कला / साहित्य

लघुकथा : निलो पेटिकोट

प्रेमकृष्ण श्रेष्ठ, कीर्तिपुर

शिशिर याम । बाहिर हुस्सुको बाक्लो पर्दा । अफिस जाने तर्खरमा थिएँ । श्रीमती कोठामा आइन् र सुइटरको गला मिलाउँदै बोली; ‘एउटा पेटिकोट किन्नु पर्ने, सबै पुरानिसके ।’

– कस्ले देख्या हुन्छ र पेटिकोटलाई, भित्र लाउने त हो नि, के पुरानो, के नयाँ ?’

‘त्यसो भनेर हुन्छ ? नयाँ लगायो भने जोश पनि नयाँ आउँछ । एउटा पेटिकोट किनेर ल्याउनुस् भरे असनबाट आउँदा !’ श्रीमती कर्की ।

‘श्रीमतीको पेटिकोट किन्ने ठेक्का लिएर बसेको छु र ?’ म पनि कर्कें । श्रीमती केही बोलिन । म सरासर आफ्नो अफिसको बाटो नापेँ ।

असनको गल्लीलाई दिनको दुईपटक कुल्चेर हिँड्ने मेरो दैनिकी थियो । बेलुका घर फर्किने क्रममा श्रीमतीको पेटिकोटको मागलाई झल्यास्स सम्झेँ । असनमा पूरै बजार लागिरहेको थियो । अलि सस्तोमा देलाकि भन्ने आलसामा मधेशीको दोकानमा पुगें । – साहुजी पेटिकोट हेरौँ न ? भन्दा एउटा फुच्चेले विभिन्न रंगका पेटिकोटहरु भुइँभरि असरल्ल ओछ्यायो । मैले नीलो रंगको पेटिकोट अट्ठ्याएँ । बार्गेनिङ्ग गर्ने क्रममा डेढ सय रुपैँयामा मोल मिल्यो । एउटा झोलामा पोका पारेँ अनि लुखुरलुखुर घरतिर आएँ ।

घर पुग्दा साँझको सात बजिसकेको थियो । श्रीमतीसँग भात खाइवरी कोठामा आएँ अनि आफ्नो पोका फुकाएँ । उस्ले त्यो नीलो पेटिकोट ओल्टाइ–पल्टाइ हेरी र पेटिकोट लगाएर ऐनामा खुब आफूलाई नियाल्न थाली । अनि मेरो छेउ आई । मलाई कैल्यै नबुनेको “अँगालोको एक न्यानो सुइटर” बुनेर लगाइदिई, त्यो पनि शिशिर यामको मुटु कँपाउने जाडोमा राहत मिल्ने गरी । मेरो गालामा आफ्नो लिपिस्टिक पनि छापी । ज्यादै सुखको अनुभूति भयो । सोचेँ, डेढ सय रुपैँयाले पनि दाम्पत्य जीवनमा यस्तो खुसी ल्याउँदो रहेछ ! उनी मलाई थप एक बोनस कसिलो चुप्प गरेर कोल्टे फेरी । म आँखा बन्द गर्दै सोचिरहें… सुहागरात भन्दा मीठो रातलाई म के नाम दिऊँ ? अनि आफैले बिहान बोलेको वाक्य सम्झेर मुसुक्क हाँसे, कस्ले देख्या हुन्छ र पेटिकोटलाई, भित्र लाउने त हो नि, के पुरानो, के नयाँ ?

आँखा यसो खोल्दा नीलो पेटिकोट कहीँ थिएन । बाँकी थियो त श्रीमती र म मात्र । खाटको एक कुनातिर गुजुल्टिएर थुप्रेको पेटिकोटलाई मनमनै आभार व्यक्त गरें ।

सिरक तानेर दुबैलाई ढाकें ।

बिहान म व्युँझदा उनी कोठामा देखिन । निलो पेटिकोट सिसाको शो-केस भित्र सम्मानित अवस्थामा देखें ।