समाचार

काठमाडौंमा शुरु भयो नेकपा केन्द्रिय समिति बैठक

काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रिय समिति बैठक शुरु भएको छ । बैठकमा राजनीतिक प्रतिवेदन पेश भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरी उद्घाटन गरेको बैठकमा प्रधानमन्त्रीे सरकारका कामको बचाउ गरे ।

उनले एमसीसी, यति समूहसँगको सरकारको सम्बन्धजस्ता विषयमा सरकारको तर्फबाट स्पष्टिकरण दिएका हुन् ।

बुधबार नै नेकपाको राजनीतिक प्रतिवेदन बैठकमा प्रस्तुत गरियो । प्रतिवेदनमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसलाई ढुलमुले र सम्झौतापरस्त पार्टीका रुपमा चित्रण गरिएको छ ।

दुई अध्यक्षले राजनीतिक प्रतिवेदन पेश गरेका हुन् । देशमा रहेका साना क्षेत्रीय पार्टी र साना वामपन्थी पार्टीहरूसँग आलोचना सहकार्य तथा एकताको नीति अनुसार उनीहरूलाई आर्थिक सामाजिक रुपान्तरणमा सहभागी गराउन जोड लगाउनुपर्ने अध्यक्षको प्रस्तावमा उल्लेख छ ।

राजनीतिक प्रतिवेदनमा नेकपालाई देशभक्त पार्टीका रुपमा परिभाषित गरिएको छ ।

बुधबार नै महासचिव विष्णु पौडेलले विधान संशोधनको प्रस्ताव राखेका थिए । नेकपाका सबै तहका कमिटीले बढीमा १० प्रतिशत सदस्य मनोनयन गर्न पाउने गरी विधान संशोधनको प्रस्ताव गरिएको छ ।

काठमाडौं उपत्यकामा मजदूर, युवा विद्यार्थी, उद्योगी व्यवसायी र पेशागत क्षेत्रको पार्टी कामलाई नेतृत्व प्रदान गर्न अधिवेशनबाट निर्वाचित उपत्यका विशेष कमिटी रहने प्रस्ताव समेत गरिएको छ ।