समाचार

३० जना काँग्रेस नेता–कार्यकर्ताको यूरोप भ्रमण तय

काठमाडौंं। नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधी यही जुन ५ मा हुने संसदीय निर्वाचनको पर्यवेक्षणका लागि सोमबार डेनमार्कको राजधानी कोपनहेगन प्रस्थान गरेका छन् । डेनिस इन्स्टिच्यूट फर पार्टीज एण्ड डेमोक्रेसी (डीआइपीडी)को निम्तोमा उपसभापति निधी कोपनहेगन प्रस्थान गरेका उनका प्रेस सल्लाहकार रामजी दाहालले जानकारी दिए । निधीले आफ्नो भ्रमण अफिसियल भएको दाबी गरेका छन् ।
डेनमार्क भ्रमणका क्रममा  इलेक्सन अभियानको स्थलगत अवलोकन गर्ने कार्यक्रम रहेको छ । त्यसक्रममा उपसभापति निधिले त्यहाँका मतदाता, युवा, महिला लगायतका समूहसँग भेटेर कुराकानी गर्नेछन् । यसैगरी चुनावको दिन बिहीबार मतदान स्थलमा पुगेर अवलोकन गर्ने कार्यक्रम रहेको छ । उपसभापति निधिले चुनावको भोलिपल्ट राजनीतिक दलका नेताहरुसँग अन्तरक्रिया गर्ने तयारी गरिएको छ ।
नेपाल डेनमार्क बाहिर बनेको डीआइपीडीको पहिलो सदस्य मुलुक हो । जसलाई सन् २०१० मे २६ मा त्यहाँको संसद्ले मान्यता दिएको थियो । त्यसपछि नेपालको संसद्ले सन् २०१२ मा विभिन्न राजनीतिक दलहरुको प्रतिनिधित्व रहेको दलहरुको सहकार्यका लागि संयुक्त संयन्त्र गठन गरेको थियो ।
नेपालजस्तो विकासशील मुलुकमा प्रजातान्त्रिक शासन व्यवस्थाको सबलीकरणका लागि दलहरु बलियो हुनुपर्छ भन्ने मान्यताअनुसार डेनमार्कको संसद्ले यो संस्था गठन गरेको हो । यो संस्थाले मुलुकमा दलहरुबीचको सहकार्यमा जोड दिने गर्दछ ।
परिवारसहित पुगेका निधिको आलोचना
नेपाली काँग्रेसका संसारभर छरिएर रहेका कार्यकर्ताको भेला डेनमार्कको राजधानी कोपनहेगनमा हुँदै छ । त्यसका लागि झण्डै ३० जना नेता कार्यकर्ता यूरोप भ्रमणमा निस्किने भएका छन् । निधी पहिल्यै गएर परिवारसहित घुमघाम गर्ने योजनाले डेनमार्क लागिसकेका छन् । अन्य केही नेता पनि परिवारसहित जाने भएपछि चर्को आलोचना भएको छ ।
तीन दिनसम्म चल्ने भेलामा संसारका तीन दर्जन देशका प्रतिनिधिको सहभागिता रहने भएको नेपाली जनसम्पर्क समिति डेनमार्कले जनाएको छ । संसारभरबाट जुन २१देखि २३ तारिखसम्म भेला आयोजना गरिएको हो । भेलामा नेपालबाट विदेश गएका नेपालीलाई मताधिकारको व्यवस्थाको माग र अक्टोबरमा हुने एनआरएन चुनावका विषयमा समेत विशेष छलफल हुने तय भएको छ ।
नेपाली काँग्रेसको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा पार्टी उपसभापति विमलेन्द्र निधी, महामन्त्री डा. शशांक कोइराला, पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा, नेताहरु डा. मिनेन्द्र रिजाल, भीष्मराज आङदेम्बे, धनराज गुरुङ लगायत झण्डै एक दर्जन नेता सहभागी हुनेछन् ।
कार्यक्रमको संयोजन नेपाली जनसम्पर्क समिति डेनमार्कले गरेको छ । समितिले तयारीसमेत शुरु गरेको छ । विभिन्न उपसमिति बनाएर तयारी गरिएको नेपाली जनसम्पर्क समिति डेनमार्कले जनाएको छ । गैरआवासीय नेपाली संघ (एनआरएन)को अक्टोबरमा हुने महाधिवेशनका विषयमा समेत भेलामा छलफल हुने भएको छ ।
भेलामा नेपाली काँग्रेस निकट एनआरएनका पदाधिकारी उपस्थित हुने भएका छन् । एनआरएनमा अल्पमतमा परेको नेपाली काँग्रेस निकट एनआरएनका पदाधिकारीले पार्टीगत हिसाबले अबको चुनावमा नलागे विदेशमा पार्टीको अवस्थासमेत मजबुत नहुने जानकारी गराउने भएका छन् । त्यसका लागि एनआरएनका उपाध्यक्ष कुल आचार्य, सोम सापकोटा लगायतको टोलीले आन्तरिक रुपमा तयारी गरेको स्रोतको दाबी छ ।
समितिको डेनमार्क सभापति वीरेन्द्रसिंह कार्कीले भने अन्य विषयबस्तुभन्दा पनि पार्टीको अवस्थाका विषयमा भेलामा छलफल हुने बताए । उनले विदेशमा रहेका नेपालीले कूटनीतिक नियोगमार्फत मताधिकारको सुनिश्चतताका लागि पहल गरिने जानकारी दिए । डेनमार्कको राजधानी कोपनहेगनको भेष्टरपोर्टमा कार्यक्रम आयोजना गरिएको छ । रिचमण्ड होटलमा हुने भेलाको तयारीका लागि विभिन्न २० उपसमिति बनाइएको छ । नेपाली जनसम्पर्क समिति डेनमार्कका सभापति कार्कीको संयोजकत्वमा तयारी समिति गठन गरिएको छ । नेपाली काँग्रेसभित्रको गुटगत राजनीति भेलामा पनि झल्किने भएको छ । काठमाडौंबाट डेनमार्क पुग्ने नेताहरु पनि हरेक गुटबाट प्रतिनिधित्व गरेर जान लागेका छन् । एक हुल नेता कार्यकर्तालाई बोलाउँदा सबै गुटको प्रतिनिधित्व भएको तयारी समितिका एक सदस्यले व्यङ्ग्य गरेका छन् ।