स्वास्थ्य

चीनमा रहेका नेपालीबारे के गरिरहेको छ सरकार ?

काठमाडौं । चीनमा ठूलो संख्यामा नेपाली बसोबास गर्छन् । खासगरी विद्यार्थीको चीनमा बाहुल्य रहको छ ।

चीनमा कोरोना भाइरसको प्रकोप बढेसँगै धेरै मुलुकले आफ्ना नागरिकलाई स्वदेश फर्काइरहेका छन् ।

तर, नेपालले भने यसतर्फ अझै पनि पहल थालिसकेको छैन ।

कोरोनाबाट अति प्रभावित १ सय ९० जना विद्यार्थीले चीनस्थित नेपाली दूतावासलाई उद्दारका लागि आग्रह गरेका थिए ।

तर, दूतावासले भने नेपाल सरकारको निर्णय कुरिरहेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार चीनको वुहानमा रहेका विद्यार्थीलाई नेपाल ल्याउने सम्बन्धमा तयारी भइरहेको बताएको छ ।

उनीहरुलाई कसरी नेपाल फर्काउन सकिन्छ भन्नेबारे आवश्यक तयारीको काम भइरहेको मन्त्रालयले जनाएको छ ।

चीनबाट नेपाल ल्याइसकेपछि पनि उनीहरुलाई अन्य मानिसको सम्पर्कमा राख्नु नहुने भएकाले त्यसको तयारीमा समय लागेको हो ।

नेपालमा धेरै जनालाई एकै स्थानमा र विशेष सतकर्ताका साथ राख्न सकिने स्थान नभएका कारण नेपाल ल्याउन समय लागेको बताइएको छ ।

कोरोनाको सर्ने अवधि २ देखि १४ दिनसम्म रहन्छ । त्यसकारण उनीहरुलाई छुट्टै वार्डमा राख्नुपर्छ ।

कोरोनाले चीनमा मात्र १ सय ७० जनाको ज्यान गइसकेको छ । विश्वका १५ देशमा यसको संक्रमण फैलिसकेको छ । ७ हजार भन्दा बढीमा यसको संक्रमण देखिएको छ ।