फिचर

हालै चीन भ्रमण गरेका विदेशीलाई अमेरिका प्रवेशमा रोक, ६ देशले गरे यस्तै निर्णय

काठमाडौं । चीनमा कोरोना भाइरसले महामारीको रुप लिएसँगै यूरोप र अमेरिकी मुलुकले हालै चीनमा यात्रा गरिसकेका विदेशीलाई आफ्नो मुलुक जान प्रतिवन्ध लगाएका छन् ।

यो निर्णयले खासगरी चिनियाँ पर्यटक नै प्रभावित हुनेछन् । किनकी अन्य धेरै मुलुकले आफ्ना नागरिकलाई चीन जान कडाई गरिसकेका छन् ।

अमेरिका, अष्टे्रलिया, इटाली, जापान, रुस र पाकिस्तानले हालै चीन भ्रमण गरेर फर्किएका विदेशी नागरिकमाथि आफ्नो मुलुक प्रवेशमा रोक लगाएका हुन् ।

कोराना भाइरस फैलिएसँगै विश्व स्वास्थ्य संगठनले स्वास्थ्य आपतकाल घोषणा गरेको छ । चीनमा मात्र यस रोगले ३ सय भन्दा धेरैको ज्यान गइसकेको छ ।

संक्रमितको संख्या अन्य मुलुकमा समेत फैलन थालेसँगै यात्रामा प्रतिवन्ध लगाइएको हो । यो रोगको संक्रमण अमेरिका र अस्ट्रेलियामा समेत भेटिइसकेको छ ।

अब अमेरिकामा पछिल्लो दुई सातादेखि चीनको भ्रमण गरेका सबै विदेशीलाई आफ्नो देश प्रवेश रोकेको हो ।

अमेरिकासहित देशले गरेको यात्रा प्रतिवन्धप्रति भने विश्व स्वास्थ्य संगठनकै अधिकारीहरु संतुष्ट छैन ।

यो मानवीय व्यवहार नभएको र यसले सूचना आदानप्रदान र मेडिकल आपूर्ति संयन्त्रमै अवरोध पुग्ने बताएका छन् ।

स्वास्थ्य सचेतना अपनाएर रोगको सामूहिक मुकाविला गर्नुपर्ने संगठनको भनाई छ ।