खेलकुद

अमेरिका र ओमानविरुद्ध सन्दिपको हरेक विकेटमा रंगशालालाई रकम

काठमाडौं । नेपालका स्टार क्रिकेटर सन्दिप लामिछानेले चितवनमा निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि आर्थिक सहयोग घोषणा गरेका छन् ।

२२ माघबाट कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाल, अमेरिका र ओमान त्रिदेशिय क्रिकेट लीगमा प्रतिस्पर्धा गर्दैछन् ।

उक्त लीगमा हरेक विकेट बराबर ८८४८ रुपैयाँ गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई सहयोग गर्ने घोषणा सन्दिपले गरेका छन् । यो अंक सर्वोच्च शिखर सगरमाथाको उचाई बराबर हो ।

सन्दिपले आइतबार आफ्ना सामाजिक संजालहरुबाट यो खबर सार्वजनिक गरेका छन् । उनी अस्ट्रेलियाको मेलवर्न स्टार्सबाट बिग बास खेलिरहेका थिए ।

५ दिनअघि मात्र उनी त्रिकोणात्मक लीगका लागि देशको प्रतिनिधित्व गर्न नेपाल फर्किएका हुन् । प्रतियोगितामा भाग लिन अमेरिकाको टोली समेत नेपाल आइपुगेको छ ।

आइतबार राती मुम्बईबाट नेपाल एयरलाइन्सको जहाज चढेर टोली काठमाडौं उत्रिएको हो । अमेरिकी क्रिकेट टोली पहिलो पटक काठमडौं आइपुगेको हो ।