समाचार

न्यूयोर्कमा श्रष्टा सम्मानित

न्यूयोर्क/अमेरिका
अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) न्यूयोर्क च्याप्टरले ४ जना साहित्य श्रष्टाहरुलाई सम्मान गरेको छ । आइतबार न्यूयोर्कको ज्याक्सन हाईटमा आयोजना गरिएको ‘न्यूयोर्कमा श्रष्टा’ नामक कार्यक्रममा साहित्य श्रष्टाहरुको श्रृजना सुनाइएको थियो ।
अनेसास न्यूयोर्क च्याप्टरका महासचिव राजन महर्जनका अनुसार, हरेक तीन महिनाको अन्तरालमा ४/४ जना श्रष्टाहरुलाई सम्मान गर्ने र उनीहरुको साहित्य श्रृजना सुन्ने नयाँ कार्यक्रमको थालनी गरिएको छ । त्यसै अनुरुप ‘न्यूयोर्कमा श्रष्टा’ पहिलो कार्यक्रम हो ।


उक्त कार्यक्रममा अमेरिकी प्रवासमा रहेर नेपाली साहित्यमा योगदान पु¥याउने साहित्यकारहरु किशनसिंह धामी, बिनोद रोका, मधु माधुर्य, तथा पद्मा लिंखा मगरलाई सम्मान गरिएको थियो । उक्त अवसरमा सम्मानित साहित्यकारहरुले आ–आफ्नो श्रृजना सुनाएका थिए ।
कार्यक्रममा अनेसास न्यूयोर्क च्याप्टरका निवर्तमान अध्यक्ष राजेन्द्र श्रेष्ठलाई पनि सम्मान गरिएको थियो । च्याप्टरमा दुई कार्यकालसम्म रहँदा श्रेष्ठले पु¥याएको योगदानको कदर गर्दै सम्मान गरिएको हो । यसैगरी, अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बोर्ड अफ ट्रष्टीका अध्यक्ष साहित्यकार गीता खत्रीको कथा संग्रह ‘अन्त्यहिन इच्छा’ को अंग्रेजीमा अनुवाद ‘सेमलेस डिजायर’  को लोकार्पण गरिएको थियो ।
नेपाली साहित्यकारहरुको श्रृजनाहरुलाई अन्तराष्ट्रिय स्तरमा परिचय गराउन यो पुस्तक एउटा ठोस माध्यम भएको बताइएको थियो । साथै १७ वटा मनछुने कथा समेटिएको यो पुस्तकले मान्छेको मन छुन सफल रहेको अंग्रेजी पुस्तक लेखक साहित्यकार राजन थपलियाले बताएका थिए ।

अनेसास न्यूयोर्क च्याप्टरकी अध्यक्ष साहित्यकार शकुन ज्ञवालीले साहित्यकारहरुका श्रृजना सुन्न पाउँदा मनै आनन्द हुने बताएकी थिइन् । बेला/बेलामा यस्ता कार्यक्रम आयोजना गर्नाले लेख्ने र श्रृजना गर्नेहरुलाई समेत प्रोत्साहन मिल्ने उनी बताउँछिन् ।