विज्ञान प्रविधि

घाटामा चलेका वायुसेवा कम्पनी मर्जरमा जान सक्ने

काठमाडौं । नेपालमा हवाई इतिहास लामो छैन । नेपाल एयरलाइन्सले करीव ६ दशक आफ्नो उडान भरेको छ भने निजी वायुसेवा कम्पनी आएको मात्र तीन दशक पुग्दैछ ।

यस अवधिमा सयौं कम्पनी जन्मिए, चले र हराए । नेपाल एयरलाइन्सबाहेक खुलेपछि निरन्तर चल्दै आएको निजी क्षेत्रको वायुसेवा कम्पनी बुद्ध एयर हो । त्यसबाहेक अन्य कम्पनीसँग लामो इतिहास छैन ।

यसो हुनुमा कम्पनी टाट पल्टैदै जानु, व्यापार गर्न नसक्नु, दूर्घटना भएपिच्छे जहाज घट्नु, नयाँ थप्न नसक्नुजस्ता कारणले भूमिका खेलेको छ ।

अर्थातः कमजोर कम्पनी भएका कारण त्यसको असर हवाई उद्योगमा परेको हो ।

अब सरकारले घाटामा चल्नुर्ने बाध्यता भएका वायुसेवा कम्पनी एक आपसमा गाभिन र प्राप्ति (मर्जर र एक्वीजिसन)मा जान सक्ने गरी प्रावधान ल्याउँदैछ । त्यस कार्यमा प्रोत्साहन समेत गर्ने गरी सरकारले हवाई नीति तयार पारेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पहिलो पटक वायुसेवा कम्पनीमा मर्जरको सुविधा ल्याएको हो ।

मन्त्रालयले राष्ट्रिय हवाई नीति २०७६ को प्रारम्भिक मस्यौदा तयार गरी सार्वजनिक गरेको छ । यो नीति पारित भएसँगै कार्यान्वयनमा आउनेछ ।

‘अस्वस्थ प्रतिस्पर्धाका कारणबाट वायुसेवा संस्थालाई पलायन हुन नदिई क्षमता तथा पूँजी लगानीको आधारमा दीगो सञ्चालन सुनिश्चित गर्न वायुसेवा कम्पनी पनि एक आपसमा गाभिने र प्राप्ती गर्ने क्रियाकलापलाई प्रोत्साहन गरिने छ’, नीतिको मस्यौदामा लेखिएको छ ।

नेपालमा १९ वटा वायुसेवा कम्पनी आन्तरिकतर्फ संचालनमा छन् । विगतमा समेत दर्जनौं कम्पनी स्थापना भएका थिए ।

तर, उनीहरु धेरैले शुरुवात नै गर्न सकेनन्, कतिपय भने टाट पल्टिएर बन्द भए ।

अहिले ९ वटा ठूला जहाज उडाउने कम्पनी र १० वटा हेलिकोप्टर कम्पनीले सेवा दिइरहेका छन् । अन्तराष्ट्रियमा तीन कम्पनीले (नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स र बुद्ध एयर)ले सेवा दिइरहेका छन्