कला / साहित्य

एक पुरुष : कथा

प्रेमकृष्ण श्रेष्ठ, कीर्तिपुर

अर्चनाले जीवनमा पहिलोपटक कहिले ऐना हेरेको थियो, उस्लाई याद छैन । तर हेरेको दिन पक्कै उस्लाई आगोले पोलेको हुनुपथ्र्यो र त्यसपछि उस्ले जीवनमा कहिले ऐना हेरेन । शरीरका अरु सबै अङ्ग सुन्दर भएता पनि अर्चनाको देब्रे गालामा एउटा ठूलो दाग थियो । उस्को देब्रे गालामा बसेको त्यो ठूलो दागले उस्को शरीरका अरु सौन्दर्य कुटुक्क खाइदिएको थियो ।

सानोमा त त्यो दागलाई खासै वास्ता गरिएन । जव बैशले आफ्नो धर्म निभाउन थाल्यो, जोवन भरिलो हुँदै आयो, छाती ढकमक्क फुल्यो, उस्लाई आफ्नो रुपको निकै चिन्ता लाग्न थाल्यो । हजारौको निम्ति ऊ एक कुरुप भई भने एकदुई जना हितैषीको निम्ति सहानुभूतिकी पात्र भई । हितैषीहरु भन्थे, गालामा त्यो एउटा दाग नभएकी भए अर्चना कति राम्री हुन्थी ।

अरुका निम्ति बैश उपहार भए पनि उस्को निम्ति उपहास सावित भइरहेको थियो । बैशका सालहरुमा प्रत्येक मसिरमा साथीहरु दुई चार जना दुलही हुन्थे । साथीहरु आफ्ना सिउँदा रंगाएर विहावारी गरिजान्थ्यो । अर्चनाको जीवनमा भने त्यस्तो लगन जुरेकै थिएन । जति पनि केटाहरुले उस्लाई हेर्थे नराम्री केटी भनेर छोडिदिन्थे । ऊ यसरी नै केटाहरुको अस्वीकार झेल्दाझेल्दै चौवीस, पच्चीस, छब्बीस, सठाइस, अठाइस, उनान्तीस हुँदै तीस पुगे । क्लासमा सँगै पढेका सवै साथीहरुको विवाह भइसकेको थियो । उस्ले विवाह नभएकोमा आफूलाई मात्र पायो । सारै अभागी थानेर आफूलाई धुरुधुरु रुन्थी ।

जे होस् उस्लाई जीवनमा कसैको सहारा चाहिएको थियो, तर कोही पनि उसको सहारा बन्न तयार थिएन । करोडौं पुरुषहरु अटाएको यो ब्रहाण्डमा पनि उस्को सिन्दुर रंगाउने कोही थिएन ।

दिन बित्दै गयो । शरीरभरि उस्को ढकमक्क फुलेको बैंश पनि विस्तारै विस्तारै ओइलाउन थालेको थियो । उस्ले जीवनमा अव कैले विवाह नै हुन्न भनेर पूरै हरेस खाइसकेको थियो । यस्तो निरस क्षणमा ‘म विवाह गर्छु अर्चनालाई ।’ यसो भन्दै एक पुरुषले उस्को जीवनमा प्रवेश गर्यो ।

उमेरमा बीस वर्षको फरक थियो । त्यो पुरुषको वारेमा उस्लाई अरु केही जानकारी थिएन र जानकारी राख्ने इच्छा पनि राखेन । जे होस्, त्यो विराट सुन्यतामा उस्लाई केवल एक ‘पुरुष’ मात्र चाहिएको थियो । त्यो पुरुषलाई पति मानेर, समाजमा देखाउनु थियो कि उस्को सिउँदो पनि रगिन योग्य छ । ऊ धेरै खुसी भयो त्यो क्षण । न अनुहारको वारेमा कतै गुनासा न अस्ताएको बैंशको न कुनै सोधनी । हिलोमा फुलेको कमललाई टिपेर भगवानको चरणमा अर्पण गर्न खोज्ने, त्यो पुरुष उस्लाई भगवानकै अवतार जस्तो लाग्यो ।

त्यही भगवानको अवतारसित उस्को विवाह भयो । वैवाहिक जीवनको प्रारम्भमा ऊ निकै खुसी थियो । बैशको पारी पुगेको उमेर भएता पनि श्रीमानमा कहिलेकाही मनोविनोद गथ्र्यो, जस्ले पोखिसकेको बैश फेरि उस्को अणु अणुमा उमारिदिन्थ्यो । नारी न हो, पतिको यस्तै ठट्टै ठट्टाले कोख ढममक्क होस् र पछि काख पनि मगमगाओस् भनी प्रार्थना गर्न थाल्यो ।

दाम्पत्य जीवनमा पहिलो चिसो सुस्केराले उस्को ओठ तव स्पर्श गर्यो जव पतिबाट उस्को मातृत्व सपना पूरा हुँदैन भनी थाहा पायो । पतिलाई धेरै माया गर्ने भएकीले उस्ले पतिको अपूर्णताको कारण खोतलेन पनि । पतिले ओढाएको अँगालोमा अझै पूर्ण थिई ऊ । आमा हुन नपाए पनि पत्नी हुन पाइरहनु कम्ता शौभाग्यको कुरा होइन उस्को लागि, ऊ यसरी नै चित बुझाउँथी ।

त्यस्तो माया गर्ने श्रीमान अव विस्तारै ऊबाट टाढा हुँदै गएको महसुस गर्न थाल्यो । अफिसबाट काम गरी ढिलो आउँथ्यो । आउने वितिकै थाकेर सुतिहाल्थ्यो । पतिको दिनदिनैको वेवास्ताबाट आजित भए पछि एकदिन अर्चनाले साहस बटुलेर सोधी, ‘म नराम्री भएरै हजुरको यो वेवास्ता हो भने मलाई किन विवाह गर्नु भएको ? म पनि एक नारी हुँ । मलाई पनि पतिको अँगालोको तातो मन पर्छ । गमलामा सजाउन मात्र गोडमेल गरेको हो भने गमलाको फूल बार्डलीमा सुहाउँछ, घरको कोठामा होइन ।’

पत्नीको आशय बुझेपछि पतिले स्पष्टरुपमा भने, ‘हो, मैले तिमीसँग अलग भएर अर्को पलङ्गमा सुत्न थालेँ । यस्को अर्थ म तिमीलाई माया नै नगर्ने होइन । सँगै सुतेर अ‍ोढाएको मेरो अँगालोले तिम्रो कोखमा हरियाली आउँदैन पनि । मेरो हरेक अँगालोमा तिमीभित्र संतानको रहर पैदा नहोस् र त्यो रहर अपुरो हुँदा तिमीभित्र पीडा नहोस् भनेर अलगै भएको हुँ । मेरो उमेर पनि बैंशका कुटकुटी, खित्खिति र गुडगुडीबाट रिटायर हुँदैछ नि ।’

पतिको यस्तो अप्रत्याशित जवाफले उस्का आँखा भुल्भुलाउन थाल्यो । ऊभित्र संतानको रहर पनि थिएन । बस उस्लाई श्रीमानको तातो आत्मीयताको मात्र खाँचो थियो । आफ््नो पति टाढा टाढा हुँदै गए पनि सिउँदोमा सिन्दुर फक्रिरहेकोले ऊ आफूभित्र गर्व महसुस पनि गथ्र्यो । यस्तो पीडादायी क्षणसम्म पनि उस्लाई ‘कसैकी पत्नी हुँ’को जुन गौरव पतिबाट प्रदान भएको छ त्यो भन्दा ठूलो उपहार उस्को संसारमा अरु केही थिएन ।

समय बित्दै गयो । दाम्पत्य जीवनको पीडा चपाउँदै ऊ समाजमा हाँस्दै गइरहेकी थिई । दाम्पत्य जीवनको भित्रभित्र पाक्दै गएको कटुताले उस्ले दैनिकी पनि बिर्सन थालेको थियो । आफ्नो पतिब्रता धर्म निभाउने क्रममा साँझ पति अफिसबाट आउँदा एक कप कफी दिने परम्परालाई भने उस्ले त्यागेको थिएन । यस्तै एकदिन पतिलाई कफी लिएर कोठामा प्रवेश गर्दा पतिले अरु बेला भन्दा अलि बढी माया घुलेको स्वरमा बोल्यो, ‘एउटा कुरा आज तिमीसँग गर्छु । नजिकै बस् ।’

अर्चना आफ्नो पतिको छेवै खाटमा बसी ।

‘तिमी माइण्ड नगर एउटा सत्य म आज उदघाटन गर्छु ।’

अर्चनाको छाती कस्तो सत्य होला भनेर ढुकढुक हुन थाल्यो । पतिले फेरि संवाद थपे, ‘मेरो जीवनको एउटा अभिशाप नै भनुँ, मैले जो जो विहे गरेँ । उनीहरु अल्पायुमै हृदयघाटले बिते । तिमी नै मेरो जीवनको पहिलो जीवनसँगिनी हो, जोसित मैले यसरी ‘ हेप्पी एनिभर्सली’ मनाउन पाएको छु ।’ उस्ले झोला खोतलखातल पारी त्यहाँबाट एउटा केक निकाल्यो र टि टेबुलको बीच भागमा राख्यो र फेरि त्यही झोलामा हात छिराएर फूलको गुच्छा निकालेर अर्चनातिर बढायो ।

‘हेप्पी मेरिज एनिभर्सलि डियर अर्चु’

अर्चनाले आफ्नो एक वर्षे वैवाहिक जीवनमा कहिले नसुनेको कुरा पतिबाट खोतलिँदा ज्यादै दुखी भए । मनमा के के सोच्दै उस्ले पहिलोपटक पतिका आँखामा आँखा जुधाएर सोधी ।

‘कति जना विहे गर्नु भयो अहिलेसम्म ?’

‘तिमीसहित चार जना ।’

एउटा पुरुष आफ्नो चौथौ विहेलाई पनि कति सगर्व लिन्छन् । एउटी नारी भएकी भए तीनपटक बर्खी बार्नु पथ्र्यो । कति फरक छ, नारी र पुरुषको अस्तित्व यो संसारमा । मनमा अनगिन्ती कुरा खेलाउँदा खेलाउँदै अव भने उस्को देव्रे छातीमा कसैले बेसकन मुडकी बजारेजस्तो भयो । ऊ असहाय भयो । आफ्नो श्रीमानको फूलको गुच्छालाई तिरस्कार गरेर ऊ खाटमै डङ्गरङ्ग ढल्यो ।

‘के भयो, अर्चु ?’ श्रीमानले उस्को काँधमा छुँदै हडबडाएको स्वरमा सोध्यो ।

‘छाती दुख्यो ।’ उस्को निधारबाट खलखली पसिना छुटयो ।

‘अर्चु, अर्चु’श्रीमान आतिँदै उस्लाई बोलाइरहेको थियो ।

ऊ आफ्नै छातीको पीडासँग जुध्दै थिई । मुटुलाई सकेसम्म आफ्नो हत्केलामा निमोठदै जीवन र मृत्युको वीचमा पर्खाल लगाउँन खोज्दै थिई । उस्का आँखाबाट आँसुका धारा अविरल बगिरहेको थियो । त्यो क्षण, आँसु पुछिदिने हत्केला पनि दुखेको छाती सम्हाल्दै बसेकाले आँखाहरु बेसहारा, टुहुरा उब्रिरहेको थियो, एउटा घनघोर जङ्गलभित्रको गुमनाम कुवाजस्तै । टि टेबुलको मध्य भागमा एउटा एनिभर्सरीको केक पडिरहेको थियो, वेवारिस, निसहाय र उदास, उदास । उस्को ओठ बर्बरायो, करोडौ पुरुषमा पाएको एक मात्र पुरुष पनि कस्तो पुरुष यो ? त्यतिबेला श्रीमानको चिच्याहटलाई भने कुनै अनकण्टार भीरको प्रतिध्वनि जस्तो मानेर, छातीको दुखाइको मात्रा जो बढदै बढदै गइरहेको थियो, त्यस्लाई नै सुम्सुमाउँदै गइरहेकी थिई । उस्का बन्द आँखाभित्र जीवनको पहिलोपटक हेरेको आफ्नो रुपको विम्व वाहेक अरु केही फक्रिरहेको थिएन, जुन रुपको देव्रे गाला पूरै दागले ढाकिएको थियो ।