समाचार

१ साउनबाट निर्माण ठप्प पार्ने ठेकेदारको चेतावनी

काठमाडौं । ठेकेदारहरुले १ साउनदेखि सम्पूर्ण निर्माण ठप्प पार्ने निर्णय गरेका छन् नेपाल निर्माण व्यवसायी महासंघ बुधबार राजधानीमा राष्ट्रिय भेला आयोजना गरी आन्दोलन घोषणा गरेको हो ।

सार्वजनिक खरिद नियमावली (छैठौं संशोधन) २०७५ का प्रावधानमा विमति राख्दै ठेकेदारहरु अहिले आन्दोलनमा छन् । निर्माण ठप्प पार्ने दिन १ साउन भन्दा अघि व्यवसायीले आफ्नो आफ्नो इजाजत पत्र सरकारलाई बुझाउने छन् तयारी गरिरहेका छन् ।

कार्यक्षेत्रमा कालोपट्टी बाँधी काम गर्ने योजना पनि उनीहरुको छ । निर्माण उपकरणमा कालो झण्डा राखेर विरोध गर्ने तयारी महासंघले गरेको छ ।
७७ जिल्ला प्रशासन कार्यालय, प्रदेशमा मुख्य मन्त्रीको कार्यालय तथा केन्द्रमा सार्वजनिक खरिद अनुगमन कार्यालयमा व्यवसायीहरुले धर्ना दिने समेत निर्णय भएको महासंघका अध्यक्ष रवि सिंहले जानकारी दिए ।

सडकमा शान्तिपूर्ण र्याली निकाल्ने र पछि आ–आफ्नो हेभी उपकरणसहित प्रदर्शन गर्ने महासंघले उल्लेख गरेको छ । ठेकेदारहरुले विरोधस्वरुप जेठ १४ बाट टेण्डर बहिष्कार समेत गरिरहेका छन् ।

बुधबार सम्पन्न भेलामा देशभरबाट ५ सय ५० जनाभन्दा बढी ठेकेदार सहभागी थिए । निर्माण व्यवसायी मैत्री ऐन कानून नआएसम्म आफूहरुको आन्दोलन जारी रहने उनीहरुको अडान छ ।