समाचार

डा. केसी र कान्तिपुरविरुद्धको अवहेलना मुद्दा खारेज

काठमाडौं । सर्वोच्च अदालतले अभियन्ता डा. गोविन्द केसीविरुद्ध परेको अदालतको अवहेलना मुद्दा खारेज गरिदिएको छ ।

बिहीबार सर्वोच्चको पूर्ण इजलासले दावी नपुगेको निष्कर्ष निकाल्दै केसी र कान्तिपुर दैनिमाथिको अवहेलना मुद्दा खारेज गरिदिएको हो ।

केसीले तत्कालीन न्यायाधीश गोपाल पराजुलीविरुद्ध एक अभिव्यक्ति दिएपछि पराजुलीकै आदेशमा सर्वोच्चका शाखा अधिकृत नेत्रबन्धु पौड्यालमार्फत केसीविरुद्ध मुद्दा दायर भएको थियो ।

यस मुद्दाका दौरान केसीले अदालतमै उपस्थित भई बयान दिनु परेको थियो ।

बिहीबार न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र प्रकाशमान सिंह राउतको इजलासले निवेदकको माग नपुगेको मुद्दामा राख्दै सो मुद्दा खारेज गरेको हो ।