समाचार

तपस्वी बमजनमाथि अनुयायी बेपत्ता पारेको आरोप

काठमाडौं । तपस्वीका नाममा चिनिने रामबहादुर बमजन पुनः एक पटक विवादमा तानिएका छन् ।

आफ्नो आश्रममा गएका चार जना अनुयायी बेपत्ता पारेको आरोपमा उजुरी परेपछि प्रहरी उनलाई खोज्दै सिन्धुलीस्थित आश्रम पुगेको थियो ।

तर, शुक्रबार प्रहरीले बमजनलाई फेला पार्न भने सकेन । सिन्धुलीको सिन्धुलीमाडीमा बमजनको आश्रम रहेको छ ।

आश्रममा बिहानै प्रहरी पुगेको थियो । उनी सिन्धुलीमाडीमै रहेको बताइएको थियो । तर जिल्ला प्रहरी कार्यालयको टोली आश्रम गए पनि उनी नभेटिएको कार्यालयले जनाएको छ ।

बमजनमाथि आश्रमबाट अनुयायी बेपत्ता पारेको सम्बन्धमा ४ जनाको अभिभावकले उजुरी गरेका थिए ।

आफ्ना सन्तान बेपत्ता पारेको भन्दै उनीहरुले प्रहरीमा उजुरी दिएका हुन् । बमजन पटक पटक विवादमा आइरहने तपस्वी हुन् ।

अनुयायीमाथि बलत्कारको आरोपसहित वेपत्ता पारेको आरोप लाग्ने गरेको छ । आफूलाई भगवान बुद्धको अनुयायी बताउने उनी नेपालका विवादित तपस्वी हुन् ।