स्वास्थ्य

चीनमा रहेका नेपालीको उद्दार गर्न राष्ट्रिय मानवाधिकार आयोगको आग्रह

काठमाडौं । राष्ट्रिय मानवाधिकार आयोगले चीनमा रहेका नेपालीलाई सुरक्षित रुपमा घर फर्काउन सरकारको ध्यानाकर्षण गराएको छ ।

चीनबाट स्वदेश फर्किन चाहेका नेपालीलाई अतिलम्ब उद्धार गर्न आयोगले सरकारको ध्यानाकर्षण गराएको हो ।

आफ्ना नागरिकलाई शीघ्र र सुरक्षित रुपमा स्वदेश फर्कने वातावरण मिलाउन आयोगले निर्देशन दिने निर्णय गरेको छ ।

आयोगको बैठक आइतबार बसेको थियो ।

चीनको हुवेई प्रान्तमा रहेका नेपालीको जीवन जोखिममा पर्नसक्ने तर्फ संवेदनशील भई उनीहरूलाई सुरक्षित रूपमा स्वदेश फर्कने वातावरण मिलाउन नेपाल सरकारलाई आग्रह गर्ने निर्णय भएको आयोगका सचिव वेद भट्टराईद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

आयोगले चीनबाट नेपालीलाई स्वदेश फर्काउने विषयमा सरकारले गरिरहेको कामको जानकारी लिन परराष्ट्र, शिक्षा र स्वास्थ्य मन्त्रालयका सचिवलाई आयोगमा बोलाउने निर्णय समेत गरेको छ ।

चीनको हुवेई प्रान्तबाट १८० नेपालीले स्वदेश फर्कन चाहेका छन् । उनीहरुले चीनस्थित नेपाली दूतावासमा फारम समेत भरिसकेका छन् ।

उता, चीन सरकारले भने चीनमा रहेका सबै नेपाली सुरक्षित रहेको बताएको छ ।

यता, नेपाल सरकारले भने चीनबाट फर्काइएका नेपालीलाई राख्ने क्वारेन्टाइनको व्यवस्था नगर्दा नेपाल फर्काउन ढिलाइ भइरहेको छ ।