खेलकुद

विश्वकपको पहिलो खेलमा भारतको प्रभावशाली जीत

काठमाडौं । रोहित शर्माले शतकीय इनिङ खेलेपछि विश्वकप क्रिकेट प्रतियोगितामा भारतले दक्षिण अफ्रिकामाथि ६ विकेटको प्रभावशाली जीत निकालेको छ । बुधबार राति भएको खेलमा भारतले विश्वकपको पहिलो खेलबाटै विजयी शुरुवात गरेको हो ।

२२८ रनको लक्ष्य पछ्याएर मैदानमा उत्रिएको भारतले ४७ दशमलव ३ ओभरमा चार विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो ।
भारतका लागि प्रारम्भीक ब्याट्सम्यान रोहित शर्माले अविजित १२२ रनको योगदान दिए ।

१४४ बल खेलेका उनले १३ चौका र दुई छक्का हिर्काएका थिए । पूर्वकप्तान महेन्द्रसिंह धोनीले ३४ रन बनाए । केएल राहुलको नाममा २६ रन रह्यो । कप्तान विराट कोहली १८ रनमा आउट भए ।

दक्षिण अफ्रिकाका लागि कागिसो रबडाले दुई विकेट लिए ।

इंग्ल्यान्डको साउथ हृयाम्पटनमा टस जितेर शुरुमा ब्याटिङ रोजेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २२७ रन मात्र बनाउन सक्यो ।

दक्षिण अफ्रिकाका लागि क्रिस मोरिसले ४२ रन बनाए । कप्तान फाफ् डु प्लेसिसको नाममा ३८ रहन रह्यो । एन्डिल फेहलुकवाओले ३४ र डेभिड मिलरले ३१ रन बनाए । कागिसो रबडा ३१ रनमा अविजित थिए । रसिइ भान डेर डुसेनले पनि २२ रन बनाए ।

दक्षिण अफ्रिकालाइ भारतका युजभिन्द्र चाहालको बलिङले निकै समस्यामा पारे । उनी एक्लैले चार विकेट लिए । १० ओभर बलिङ गरेको उनले ५१ रन खर्चिएर चार विकेट लिएका हुन् । जसप्रित बुमराह र भुवनेश्वर कुमारको नाममा समान २\२ विकेट रह्यो ।

लगातार तेस्रो खेलमा पराजित दक्षिण अफ्रिकाले ठूला प्रतियोगितामा अभागी टीमको मान्यता पुनः स्थापित गरिसकेको छ । उसलाई अगाडिको यात्रा अब निकै कठिन भइसकेको छ ।

खेल्न बाँकि सबै ६ खेल या कम्तिमा ५ खेल जितेको अवस्थामा मात्र दक्षिण अफ्रिकाको अघिल्लो चरणको सम्भावना बाँकि रहन्छ । यसअघि दक्षिण अफ्रिका पहिलो खेलमा इंग्ल्यान्डसँग १०४ र दोस्रो खेलमा बंगलादेशसँग २१ रनले पराजित भएको थियो ।