समाचार

नेपाली महिलाले अमेरिकाको डेनाली हिमाल चढ्ने

कल्पना घिमिरे
न्यूयोर्क/अमेरिका
नेपाली महिला शर्मिला थापामगरले अमेरिकाको डेनाली हिमाल चढ्ने भएकी छिन् । सन् २०१४ देखि अमेरिका आवतजावत गरिरहेकी थापा यसपाली अमेरिकाको अलस्का राज्यमा रहेको ६,१९० मिटर अग्लो डेनाली हिमाल चढ्ने उदेश्य लिएर आएकी हुन् । गत शनिबार न्यूयोर्कको ज्याक्सन हाइटमा पत्रकार सम्मेलन गर्दै आगामी मे महिनामा डेनाली हिमाल चढ्ने तयारी भइरहेको बताइन् । उनीसंगै ३५ पटक बिभिन्न हिमाल आरोहण गरिसकेका हिमाल आरोही तुलसी गुरुङ पनि चढ्ने छन् ।
डेनाली हिमाल अमेरिकाको सबै भन्दा अग्लो हिमाल हो । नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न र सम्पूर्ण एकल महिलालाई केही गर्ने प्रोत्साहन मिलोस् भन्दै हिमाल चढ्न लागेको उनको भनाइ छ । ‘बिभिन्न कारणले एकल भएका महिलालाई अझैपनि समाजले हेर्ने दृष्ट्रिकोण परिवर्तन हुन सकेको छैन । महिलाहरु नरम होलान् तर कमजोर छैनन भन्ने सन्देश फैलाउनका लागि पनि मैले यस्तो तयारी गरेको हँ ’ उनी भन्छिन्, ‘सन् २०२० लाई सरकारले नेपाल भ्रमण वर्षका रुपमा मनाइरहेको अवस्थामा मैले अमेरिकाको हिमालमा नेपालको झण्डा फहराउन सके भने त्यसले ‘नेपाल भ्रमण वर्ष २०२०’ का लागि सकारात्मक सन्देश दिनेछ ।’


गत वर्ष ६००० मिटर अग्लो सिन्धुपाल्चोकको जुगल हिमाल सफल आरोहण गरिसकेकी शर्मिलाले अमेरिकामा पनि केही गरेर देखाउने लक्ष्य लिएकी हुन् । हिमाल चढ्नका लागि आर्थिक संकलन जुटाउन अमेरिकास्थित नेपाली समुदायसंग सहयोगको अपिल गरेकी छिन् । ‘हिमाल चढ्नका लागि झण्डै २७ हजार अमेरिकी डलर अनुमानित खर्च लाग्ने भएकाले सबैले सहयोग गरिदिनु हुन अनुरोध छ’ उनी भन्छिन्, ‘१३ दिन सम्म माथि जाने र फर्कने गरी २१ दिनको समय लाग्छ । त्यसबिचमा खानपान, बसोबासको सामग्री देखि हामी लगाउने बिशेष कपडा, गियरहरु समेतको खर्च सबै जुटाउनु पर्नेछ । यस्ता सामाग्री अत्यन्तै महंगो हुन्छ ।’ हाल उनी क्विन्सको कोर्ट अफ स्क्वायर एक स्कुलमा क्लाइम्वर्सको तालिम लिइरहेकी छिन् । नेपाली समुदाय र संघ संस्थामा आफ्नो उदेश्य बारे बताउँदा सबैले मगर संघमा जानु भनिरहेको पनि उनले बताइन् । ‘तर, म मगरको छोरी भएर मात्रै हिमाल चढ्न लागेको होइन । आम नेपालीको छोरी भएर हिमाल चढ्दैछु । भोली मैले हिमालको चुचुरोमा नेपालको झण्डा फहराउँदा त्यहा सिङ्गो नेपाल र सम्पूर्ण नेपालीले गौरब गर्नेछन् । त्यसैले मलाई सबैले सहयोग गरिदिनु हुन पनि अनुरोध गर्दछु’ उनको अपिल छ ।


शर्मिलाले एकल महिलाको जीबनमा मात्र हैन समाज परिवर्तन गर्नका लागि गहन भूमिका निर्वाह गदै आएकी छिन् । ‘मृत्यपछि दागबत्ती दिन छोरा नै चाहिन्छ’ भन्ने पुरानो मान्यतालाई चिर्दै छोरीले पनि छोरा सरह काम कर्तब्य पालन गर्न सक्छ भन्ने सन्देश दिएकी छिन् । उनले आफ्नो आमाको मृत्युमा आफैले दाग बत्ती दिएर, कपाल मुन्डन गरी १३ दिनसम्म आमाको काजकिरियामा बसेकी थिइन् । उनको यो शाहसलाई सामाजिक रुपान्तरणको उदाहरणको रुपमा लिइएको छ

सन् २०१५ मा नेपालामा गएको महाभुकम्पमा ज्यान गुमाउनेका परिवारलाई दिनरात सहयोग गरिन् । उनले समाज परिवर्तनका लागि गरेको योगदानको कदर गर्दै सन् २०१५ मा संयूक्त राष्ट्र संघले एन पी सी अर्वाडले सम्मान गरेको थियो । कार्यक्रममा शर्मिलाले जीवनका गरेका संघर्षबारे बनेको छोटो बृतचित्र प्रस्तुत गरिएको थियो ।
मगर संघ अमेरिकाका अध्यक्ष कुलदीप रानामगरले शर्मिलालाई सबैले सहयोग गरिदिनु हुन आग्रह गरेका छन् । शर्मिलाको यो लक्ष्य पुरा गराउनका लागि संस्थाको तर्फबाट अभिभावकको भुमिका निर्वाह गरिरहेको पनि उनले जानकारी दिए । न्यूयोर्क, टेक्सास, बाल्टिमोर लगायतबाट पनि सहयोग गराउन पहल गरिरहेका छौं । सहयोगको अपिल गर्दै उनी नेपाली महाबाणीज्य दूताबास, डिसिस्थित नेपाली राजदुताबास सबैतिर धाइरहेकी छिन् । सरकारका तर्फबाट केही जानकारी नआएसम्म कन्सुलेटले प्रत्यक्ष बजेट दिन नमिल्ने जानकारी गराएको उनले बताइन् ।