समाचार

गच्छदारको मुद्दामा कांग्रेस लचिलो, अब संसद चल्ने

काठमाडौं । उपसभापति विजयकुमार गच्छदारमाथि अख्तियार दुरुपयोग अनुसन्धान ायोगले विशेष अदालतमा मुद्दा दायर गरेसँगै आक्रामण भएको नेपाली कांग्रेस लचिलो बनेको छ ।

अब नेपाली कांग्रेसले गच्छदारको मुद्दालाई लिएर संसदमा अवरोध गर्न नहुने निष्कर्षमा पार्टी पुगेको हो ।

खासगरी सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सरकारको एक विभागजस्तो बनाएर राजनीतिक पूर्वाग्रहका आधारमा मुद्दा लगाउने गरेको निष्कर्ष निकाल्दै कांग्रेसले गच्छदारको हकमा भने पार्टीले काँध थाप्न नसक्ने भएको छ ।

कानूनी रुपमा कमजोर धरातल र गलत व्यवहार भइसकेको अवस्थामा गच्छदारले आफै कानूनी लडाई लड्नु पर्ने भएको छ ।

खासगरी गच्छदारलाई मुद्दा हालेर दुई पूर्वप्रधानमन्त्रीलाई किन छाडेको भन्ने कांग्रेसकै अभिव्यक्तिले गच्छदारसमेत दोषि थिए भन्ने प्रमाणित हुने भएकाले यो मुद्दालाई कांग्रेसले अब नउचाल्ने निष्कर्षमा पुगेको हो ।

संसदको गतिरोध खोल्नेबारे औपचारिक निर्णय संसदीय दलबाट हुने भएको छ ।

अख्तियारले २२ माघमा ललिता निवास जग्गा प्रकरणमा तत्कालीन भौतिक योजनामन्त्री गच्छदारसहित १७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेसँगै कांग्रेसले तीन पटकसम्म संसदमा अवरोध गरिसकेको छ ।

सोमबार कांग्रेसका शीर्षनेताहरुबीच संसदको अवरोध हटाउने सहमति जुटेको हो ।

पार्टी कार्यालय सानेपामा केन्द्रीय कार्यसमिति बैठक बस्नुभन्दा अगाडी शीर्ष नेताबीच छलफल भएको थियो । केन्द्रीय समिति बैठकमा उपसभापति गच्छदारले डेढ घन्टा लामो भाषण गरेका थिए ।