स्वास्थ्य

चीनमा रहेका नेपाली विद्यार्थीलाई ३ फागुनमा नेपाल ल्याइने

काठमाडौं । चीनमा रहेका नेपाली विद्यार्थीलाई ३ फागुनमा नेपाल ल्याइने भएको छ ।

मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले मिति तोकेको हो । विद्यार्थी ल्याउन नेपाल एयरलाइन्सको वाइडबडी जहाज चीन पठाइने भएको हो ।

वुहानबाट १८० नेपाली विद्यार्थीले नेपाल आउन निवेदन लिएका छन् ।

नेपालमा यति ठूलो संख्यामा मानिस बोक्न सक्ने जहाज नेपाल एयरलाइन्ससँग मात्र छ । नेपाल एयरलाइन्सको वाइडबडीले एकसाथ २ सय ७४ जना यात्रु बोक्न सक्छ ।

वुहानबाट विद्यार्थी ल्याउन ढिलाई गरेको भन्दै सरकारको चौतर्फी आलोचना भइरहेको छ । वुहानमा मात्र १ हजार भन्दा बढी मानिसको कोरोना भाइरसले ज्यान लिएको छ ।

चीनमा ३५ हजारभन्दा माथि यसको संक्रमण फैलिएको छ । चीनबाट नेपाल आएका विद्यार्थीलाई १४ दिन क्वारेन्टाइनमा राख्नुपर्छ ।

त्यसका लागि खरिपाटीस्थित विद्युत प्राधिकरणको भवनमा तयारी गरिएको छ ।

विद्यार्थीको निगरानीका लागि ८६ जना स्वास्थ्यकर्मी खटिने छन् । चीनमा डिसेम्बरबाट यो महामारी फैलिएको हो ।