स्वास्थ्य

एभरेष्ट पानोरमा रिसोर्ट तीन महिना निलम्बित

काठमाडौं । पाहुनाको सेवा सुविधामा लापरवाही गरेको भन्दै दामनस्थित एभरेष्ट पानोरमा रिसोर्ट निलम्बनमा परेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले मकवानपुरको थाहा नगरपालिका दामनस्थित एभरेष्ट पानारोमा रिसोर्ट तीन महिना बन्द गराउन निर्देशन दिएको हो ।

यस रिसोर्टमा ७ माघमा ८ जना भारतीय पर्यटकको कोठामा निसास्सिएर ज्यान गएको थियो । ग्यास हिटर बालेर सुत्दा भारतीय पर्यटकको ज्यान गएपछि सरकारले छानविन समिति गठन गरेको थियो ।

समितिले घटनामा रिसोर्टले पाहुनाको सेवा सुविधामा रिसोर्टले लापरवाही गरेको पाएको थियो । समितिको सिफारिसको आधारमा मन्त्रालयले रिसोर्टलाई निलम्बन गर्ने निर्ण गरेको हो ।

मन्त्रालयले रिसोर्ट आवश्यक कानुनी प्रक्रिया पूरा गराएर मात्र सञ्चालन गर्न दिने निर्णय गरेको हो ।

मत्रालयका अनुसार माघ २६ गतेको सचिवस्तरीय निर्णयअनुसार उक्त रिसोर्टको स्तर वर्गीकरण नभएको, पर्याप्त सुरक्षात्मक तथा व्यवस्थापकीय कमजोर रहेकाले तीन महिना निलम्बन गरिएको हो ।

पर्यटन ऐन २०३५ अनुसार होटल, लज, रेस्टुरेन्ट, रिसोर्ट तथा बार नियमावलीअनुसार वर्गीकरण, मापदण्डअनुसार प्रारम्भिक वातावरणीय परीक्षण, वातावरण प्रभाव मूल्यांकनसमेत सम्पन्न गराएर रिसोर्ट सञ्चालन गर्न निर्देशन दिइएको छ।