समाचार

नेम्बाङको स्मृतिमा श्रष्टालाई सम्मान

न्यूर्योक/अमेरिका –
अमर नेम्बाङ लिम्बू स्मृति ट्रष्टद्वारा दुई श्रष्टालाई साहित्य पुरस्कारबाट आइतबार सम्मान गरिएको छ । पाँचथरको फागुनन्द गाउँपालिकाका पूर्व अध्यक्ष नेम्वाङको वार्षिक स्मृतिका अवसरमा पाँचथरका साहित्यकार डा.देवी क्षेत्री दुलाल र झापाका कवि तथा समालोचक मुनाराज शर्मालाई नगद एक लाख राशि सहित सम्मान पत्रले सम्मान गरिएको हो । सोही अवसरमा ‘अमर नेम्बाङ लिम्बु ट्रष्ट’ द्वारा मेन्छ्यायेम एफएम १०३.४ मेघाहर्ज तेह्रथुमलाई पाँच हजार रुपैंयाँ, स्थानीय फाल्गुनन्द–३, पौवासारतापका विद्यालयको शैक्षिक उन्नति सहयोग र छात्रवृत्तिका लागि दुई विद्यालयलाई सहयोग गरिएको छ । फक्ताङलुङ वाल बिकास आधारभूत विद्यालयललाई ५० हजार रुपैंयाँ र स्थानीय पद्मकन्या आधारभूत विद्यालयमा अध्यनरत बिध्यार्थीको छात्रवृतिको निमित्त १२ हजार रूपैंया सहयोग प्रदान गरिएको छ ।
साथै केही समय अघि आगलागीबाट घर जलेका फाल्गुनन्द–३, गुम्बाडाँडाका धनकुमार तामाङलाई हाल अमेरिकामा बसोबास गर्दै आएका ट्रष्टका अध्यक्ष मुनिन्द्र नेम्बाङको पहलमा संकलन गरिएको ५० हजार रुपैयाँ सहयोग प्रदान गरिएको थियो ।


नेम्वाङको जन्म स्थान फाल्गुनन्द–३, पौवासारतापको शिलौटीफेदीमा रहेको अमर नेम्वाङ स्मृति रंगशालामा एक कार्यक्रम आयोजना गरी श्रष्टाहरुलाई सम्मान गरिएको हो ।
कार्यक्रममा रङ्गवादी कवि धर्मेन्द्र नेम्वाङ, नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्व सदस्य सचिव डा.तुलसीप्रसाद भट्टराई, आख्यानकार कृष्ण बराल, कवि प्रेम ओझा, सन्देश सुब्बा, प्रकाश थाम्सुहाङ्ग, मिना राई, गजलकार बालिका थपलिया, नुनाम केरुङ्ग, दुर्गाराज भट्टराई, गायक खड्ग बोहोरा, सुरेन शिशिर केरुङ्ग, गजलकार तथा वक्ता मधु केरुङ्ग लगायतले श्रद्धासुमन सहित नेम्वाङको जीवनीको चर्चा गरेका थिए । इलाम, झापा र पाँचथरका साहित्य प्रेमीको समेत उपस्थित रहेको स्मृति दिवसमा श्रष्टाहरुले रचना बाचन गरेका थिए ।
फाल्गुनन्द गाउँपालिकाको अध्यक्ष पदकै समयमा गत वर्ष नेम्वाङको स्वर्गारोहण भएको थियो । साहित्यिक मात्र नभएर सामाजिक र राजीतिक क्षेत्रमा समेत बिशिष्ट योगदान गर्दै आएका नेम्वाङको सम्झनामा समाजमा गरिएका
सकारात्मक काम र योगदानलाई प्रोत्साहन गर्ने उदेश्यले ट्रष्टको स्थापना गरिएको ट्रष्टका अध्यक्ष नेम्वाङका जेष्ठ सुपुत्र मुनिन्द्र नेम्बाङले जानकारी दिए । ट्रष्टले विभिन्न विधामा कलम चलाउने श्रष्टा, शैक्षिक तथा मिडिया क्षेत्र लगायतलाई बर्षेनी सम्मान गर्ने उनले जानकारी दिए ।
उनी लिम्बु समुदायमा स्नातकोत्तर गर्ने पहिलो व्यक्ति हुन् । आफ्नो मात्र प्रगतिले गाउँ, समाज र गाउँलेको जीवनमा कुनै परिवर्तन ल्याउँन सक्दैन भन्ने सोच राख्ने नेम्वाङले अध्ययन पछि नोकरी नगरी ग्रामीण क्षेत्रको सेवामा सक्रिय जीबन बिताएका थिए । वि।स।२०३३ सालमा छिमेकी गाउँपञ्चायत चिलिङदिनको जनपक्षिय नेपाली कांग्रेसको तर्फबाट निर्विरोध प्रधानपञ्च भएपछि उनी पटक÷पटक साविक पौवासारताप गाविस अध्यक्ष बन्दै गणतन्त्रको पहिलो स्थानीय तह निर्वाचन २०७४ मा फाल्गुनन्द गाउँपालिका प्रथम निर्वाचित अध्यक्ष भए। तीनवटै व्यवस्था गाउँञ्चायत, गाउँविकास समिति, र गाउँपालिकाको जिम्मेवारी वहन गर्ने व्यक्तिको रूपमा परिचित थिए । नयाँ संरचना अनुसार ७५३ वटै स्थानीय तहको सरकार मध्ये नेम्बाङले फाल्गुनन्द गाउँपालिकामा मात्र आधारभूत तथा माध्यमिक विद्यालयमा मातृभाषा शिक्षा पठनपाठनलाई प्राथमिकताका साथ संचालन गरेकाले देशभर चर्चा कमाएका थिए ।

२०७५ माघ २६ गते गाउँपालिका अध्यक्ष कार्यकाल सम्हालिरहेको अवस्थामा वडाको एक कार्यक्रममा सम्बोधन गर्दै गर्दा बेहोस भएका थिए । त्यस पछि उपचारका लागि लैजाँदै गर्दा बाटोमा उनको मृत्यु भएको थियो ।
विश्व साहित्यको अध्यन गर्दै बिभिन्न ठाँउको भ्रमण गर्ने क्रममा आफ्ना अनुभवहरु समेटेका केही कृतिहरु पनि प्रकाशित गरेका थिए ।
अमेरिका भ्रमणका केही सम्झना, सम्झनाका तरेलिहरु र एक साँझको अवसान नामक कविता संग्रह प्रकाशित छ । २०७५ सालमा नेपाल सरकारको तर्फबाट उनलाई सुप्रवल जनसेवा श्री पदकले विभुषित गरिएको थियो ।