स्वास्थ्य

रसुवागढी अझै एक साता बन्द

रसुवा । चीनबाट कोरोना भाइरस सङ्क्रमितको प्रवेश नहोस भन्ने उद्देश्यले रोकिएको रसुवा नाका बन्द लम्बाइएको छ ।

सङ्क्रमित सर्ने आशङ्काले बन्द भएको रसुवागढीदेखि केरूङसम्मको आवतजावत यथावतरूपले बन्द कायम राखिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

कोरोना भाइरसको सङ्क्रमण नआओस भनेर १५ पुस देखि यो नाका बन्द गरिएको थियो ।

रसुवागढी क्षेत्रमा स्वास्थ्यको पूर्वाधार निर्माण नभएका कारण सात दिनका लागि पुनः आवतजावत रोक्न रसुवा प्रशासनका तर्फबाट केरूङका अधिकारीलाई आग्रह गरिएकाे कार्यालयले जनाएको छ ।

चीनमा फैलिएको कोरोना भाइरसको लक्षण सीमा क्षेत्रमा हालसम्म देखा नपरेको र उक्त रोग नभित्रियोस् भन्ने उद्देश्यले केरूङ आवतजावत नगराउन आग्रह गरीएको हो ।

सीमा क्षेत्रको टिमुरे क्षेत्रमा रोग नियन्त्रणसम्बन्धी स्वास्थ्यको चेतनामूलक कार्यक्रमसमेत सम्पन्न गरिसकिएको जिल्ला प्रशासन कार्यालयको भनाइ छ ।