स्वास्थ्य

खरीपाटीमा सर्वसाधारणलाई आस्वस्त पार्दैछ सरकार

काठमाडौं । चीनबाट नेपाल फर्किएका १ सय ७५ जना नेपाली विद्यार्थीलाई क्वारेन्टाइनमा राखिएको भक्तपुरस्थित खरीपाटी आसपासका बासिन्दा त्रसित छन् ।

किनकी उनीहरुलाई कतै कोरोना भाइरसले संक्रमण गरिहाल्ने हो की भन्ने चिन्ता छ ।

भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिमकेन्द्र परिसरमा नेपाली विद्यार्थीलाई राखेपछि स्थानीय आन्दोलित सम्म भए । तर, अब भने सरकार उनीहरुलाई सम्झाउन थालेको छ ।

सोमबार प्रमुख जिल्ला अधिकारी खरीपाटीका घरघर पुगेर संक्रमण नेपालमा नआएको र विश्व स्वास्थ्य संगठनको मापदण्ड पुरा गर्न मात्र उनीहरुलाई क्वारेन्टाइनमा राखिएको बारे सम्झाउन थालेका छन् ।

मंगलबार समेत यसले निरन्तरता पायो । मंगलबार पनि भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे घरदैलोमा पुगिन् ।

स्थानीयले उनीसँग आफूहरुले घर छाडेर हिँडेको सम्बन्धमा अफवाह फैलाइएको भन्दै त्यसको खण्डन गरे ।

चीनबाट नेपाली विद्यार्थीलाई उद्धार गरेर राम्रो काम गरेको भन्दै अझ उनीहरुलाई आफ्नो स्थानमा राखेकोमा खुसी समेत व्यक्त गरे ।

केही दिन अगाडी आन्दोलनमै उत्रिएका स्थानीयले अब भने दोष मिडियालाई लगाउन थालेका छन् ।

मंगलबार प्रमुख जिल्ला अधिकारीको घरदैलौपछि स्थानीय स्थानीलाई सम्झाउन स्वास्थ्य, जनसंख्या तथा वातावरण मन्त्री भानुभक्त ढकाल पुगेका थिए ।

उनले क्वारेनटाइन क्षेत्रको समेत अवलोकन गरे । उनले क्वारेनटाइनमा राखिएका नेपाली विद्यार्थीको अवस्थाबारे जानकारी लिए ।

त्यसपछि उनले स्थानीयसँग समेत छलफल गरेका थिए । त्यसक्रममा स्थानीयले आफूहरुलाई कुनै समस्या नरहेको बताएका थिए ।

यसको मतलव क्रमशः स्थानीयहरुले वास्तविकता बुझन थालेका छन् । यसैबीच क्वारेन्टाइनमा राखिएका नेपालीमा कोरोनाको संक्रमण नदेखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

उनीहरुको र्यालको परिक्षणबाट त्यस प्रकारको संक्रमण नदेखिएको  मन्त्रालयले जनाएको छ ।