समाचार

रौतहटमा गोली हानाहान, पटेल पक्राउ

रौतहट । व्यक्ति हत्यालगायत विभिन्न अपराधको अभियोग लागेका तराई जनतान्त्रिक मुक्ति मोर्चाका पूर्वनेता कामेश्वर पटेल कुर्मीलाई पक्राउ गर्न प्रहरीले गोली चलाउनु परेको छ । प्रहरीले गोली हानेर उनलार्ई नियन्त्रणमा लिएको जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय रौटहट र बाराबाट खटिएको संयुक्त प्रहरी टोलीले ११ बजे चन्द्रपुर नगरपालिका ४ स्थित जगलसहियाबाट नियन्त्रणमा लिएको बताएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार, कुर्मीको वायाँ खुट्टामा २ राउन्ड गोली प्रहार गरी प्रहरीले उनलाई पक्राउ गरेको हो ।

गोली लागेर घाइते भएका कुर्मीलाई उपचारका लागि चन्द्रपुर प्रालि अस्पतालमा लगिएको छ ।

उनले एम्बुस थापेर प्रहरीमाथि गोली चलाएपछि आत्मरक्षाका लागि चार राउन्ड गोली चलाइएको प्रहरीको भनाई छ । उनीमाथि कर्तव्य ज्यानलगायत दर्जन बढी अभियोग लागेको छ ।