समाचार

आज प्रजातन्त्र दिवस, देशभर मनाइदै

काठमाडौं । एक सय चार वर्षे जहाँनियाँ राणाशासन अन्त्य भएर प्रजातन्त्र बहाली भएको दिन आज फागुन ७ गते । यसै दिनको सम्झनामा आज नेपालमा ७० औँ प्रजातन्त्र दिवस मनाइदैछ ।

देशमा प्रजातन्त्र घोषणा भएको दिनको सम्मान गर्दै सरकारले फागुन ७ मा औपचारिक समारोह आयोजना गर्छ ।

यस दिन नेपाली सेनाले सैनिक मञ्चमा विशेष कार्यक्रम आयोजना गर्छ । जहाँ राष्ट्रपतिसहित सबै विशिष्ट अधिकारी पुग्ने गर्छन् ।

प्रजातन्त्र आएपछि मुलुकले धेरै आरोह अवरोह भोगेको छ । तर, यसै दिनको जगमा लोकतन्त्र हुँदै मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको छ।

सोहीकारण सरकारले समेत यस दिनलाई विशेष महत्व दिने गरेको छ । यस दिनको अवसर पारी प्रधानमन्त्री केपी शर्मा ओलीले जन्मसिद्ध श्रेष्ठताको शासन प्रणाली अन्त्य गरिएको बताएका छन् ।

अब समृद्ध नेपाल निर्माणमा योगदान गर्न जनतामा उनले अपिल समेत गरेका छन् ।

ओलीले भनेका छन्,’मुलुकको समृद्धि र जनताको सुख हासिल गर्ने राष्ट्रिय आकाङ्क्षा सफल बनाउन एकजुट भई योगदान गर्न दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक आहृवान गर्दछु ।’