मनोरञ्जन

पशुपतिमा महाशिवरात्रीको तयारी पुरा, ५ हजार स्वयमसेवक खटिदै

काठमाडौं । करीव १० लाख भक्तजनले दर्शन गर्ने विश्वास गरिएको पशुपतिनाथ मन्दिरमा महाशिवरात्रीको तयारी पुरा भएको छ । पशुपति क्षेत्र विकास कोषले तयारी पुरा भएको जानकारी दिएको छ ।

यस वर्षको महाशिवरात्री मेला फागुन ९ गते परेको छ । शिवरात्रीमा पशुपतिनाथमा हुने भीडभाड व्यवस्थित गर्न ५ हजार स्वयंसेवक खटिदैछन् ।

नेपाल स्काउटबाट ठूलो संख्यामा स्वयंसेवक खटिने भएका छन् । स्वयंसेवक दर्शनार्थीलाई सहजीकरण, स्वास्थ्य उपचार तथा अन्य अत्यावयक सेवामा खटिनेछन् ।

शिवरात्री अवधिमा पशुपति क्षेत्रमा गाँजा भाङ खान नपाइने व्यवस्था गरिएको कोषले जनाएको छ । शिवरात्रीमा पशुपति क्षेत्रको सुरक्षामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी खटिने भएका छन् ।

सादा पोशाकमा समेत प्रहरी परिचालन गरिने भएको छ । शिवरात्रीका दिन पशुपति मन्दिर दर्शन गर्न चारवटा लाइनको व्यवस्था हुने भएको छ ।

पश्चिम ढोका, उत्तरढोकाबाट एक एक लाइन र दक्षिण ढोकाबाट दुई लाइनको व्यवस्था गरिएको कोषले उल्लेख गरेको छ ।

मित्रपार्क तथा गौरीघाट भएर उमाकुण्ड– दक्षिणामूर्ति हुँदै रुद्रगाडेश्वर उत्तरढोकाबाट १ लाइन, जयवागेश्वरी– इँटापाखा भएर भुवनेश्वरीस्थित फलामको सानो ढोका हुँदै पश्चिम ढोकाबाट एक लाइन व्यवस्था गरिएको छ ।

बत्तीसपुतली–गौशाला तथा एअरपोर्ट तीलगंगा भएर पिंगलास्थान–सुमार्गी भवन अगाडि भएर चार शिवालय पञ्चदेवल हुँदै दक्षिण ढोकाबाट दुईवटा लाइन रहने कोषले उल्लेख गरेको छ ।

तीलगंगा राममन्दिरतर्फ समेत आवश्यकता अनुसार एउटा लाइन बनाउन सकिने बताईएको छ ।