समाचार

गुण्डा नाइके राधे पक्राउ, तरुण दल आन्दोलनमा

काठमाडौं । प्रहरीले आपराधिक क्रियाकलापमा संलग्न रहेको भन्दै तरुण दल धादिङका उपाध्यक्ष राधाकृष्ण भण्डारी (राधे)लाई पक्राउ गरेको छ । उनको पृष्ठभूमि अपराधसँग जोडिएको छ । उता, आफ्ना नेता पक्राउको विरोधमा तरुण दल जिल्ला समिति, धादिङले २४ घण्टे अल्टिमेटम दिँदै बिहीबार आन्दोलन गरेको छ ।

तरुण दलले जिल्ला प्रहरी कार्यालयको गेटमा प्रदर्शन गर्दै राधेको रिहाईको माग गरेको थियो । प्रहरीले बिहीबार राधेलाई ज्यान मार्ने उद्योग अन्तर्गतको मुद्दामा पक्राउ गरेको थियो । उनको साथबाट छुरा समेत बरामद भएको प्रहरीको दावि छ ।

जिल्ला प्रहरी कार्यलयका अनुसार गजुरी गाउँपालिका–२ ताल्ती भन्ने स्थानमा स्थानीयहरुसँग झगडा गरिरहेको स्थानबाट उनलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी स्रोतका अनुसार स्थानीयले हतियारसहितको समूहले आतंकित बनाएको खबर गरेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । राधेको समूहले प्रहरीमाथि पनि आक्रमण गरेको बताइएको छ ।

राधेसँगै उनको समूहका सुजन लामा, विमल शाह ठकुरी, काजी शाक्य, समीर थापा मगरलाई पनि प्रहरीले पक्राउ गरेको हो । उनीहरुमाथि ज्यान मार्ने उद्योग र ड्युटीमा खटिएको प्रहरीलाई दुव्र्यवहार गरेको आरोपमा जिल्ला अदालत धादिङबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको छ ।

धादिङमा हुने विभिन्न ठेक्का पट्टामा उनको संलग्नता रहने गरेको बताइएको छ । उनी प्रहरीको खोजिको सूचिमा समेत थिए । २०७० सालमा अर्का गुण्डा नाइके चरीलाई गोली चलाएपछि राधे चर्चामा आएका हुन् । चरी  २०७१ सालमा प्रहरी इन्कान्टरमा मारिएका थिए ।