समाचार

संचार मन्त्रालयको जिम्मा खतिवडालाई

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी अर्थमन्त्री डा. खतिवडाले पाएका छन् ।

गोकुल बास्कोटाले दिएको राजीनामा स्वीकृत गर्दै राष्ट्रपति विद्यादेवि भण्डारीले अर्थमन्त्रीबाट जिम्मेवारी सम्हाल्ने गरी कार्यभार तोकिदिएकी हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बास्कोटाले दिएको राजीनामा स्वीकृत गरी सञ्चार मन्त्रालयको जिम्मा अर्थमन्त्री डा. खतिवडाले सम्हाल्ने गरी तोकेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका विषयमा स्वीस कम्पनीका एजेन्टसँग कमिसनका विषयमा छलफल भएको अडियो सार्वजनिक भएपछि बास्कोटाले बिहीबार प्रधानमन्त्री समक्ष राजीनामा बुझाएका हुन् ।

उनको राजिनामा बिहीबारै स्वीकृत भएको छ । यसअघि बास्कोटाले सञ्चारसँगै शहरी विकास मन्त्रालय समेत सम्हाल्दै आएका थिए ।

उनको राजीनामा सँगै शहरी विकास मन्त्रालयको जिम्मा राष्ट्रपतिले भौतिक पूर्वाधारमन्त्री बसन्तकुमार नेम्वाङले हेर्ने गरी तोकिदिएकी छिन् ।