डायस्पोरा

जनगणना सचेतनाका लागि न्यू ह्यामसरमा शनिबार छलफल

न्यू ह्यामसर

आउँदो अप्रिलबाट सुरु हुन लागेको अमेरिकी जनगणनाबारे सचेतना अभिबृद्धिका लागि न्यू ह्यामसरमा छलफल कार्यक्रम आयोजना हुन लागेको छ । सबै नेपालीलाई जनगणनामा भाग लिन अपिल गर्ने उद्देश्यले शनिबार (फेब्रुअरी २२ मा) कार्यक्रम आयोजना गर्न लागिएको हो ।

न्यू ह्यामसर नेपाली समाज र गैर आवासीय नेपाली संघ (एनआरएनए) न्यू ह्यामसर च्याप्टरको संयुक्त आयोजनामा उक्त कार्यक्रम हुने एनआरएनए न्यू ह्यामसर च्याप्टर उपाध्यक्ष सुन्दरी गुरुङले जानकारी दिइन् । कार्यक्रममा भाग लिन एनआरएनए अमेरिकाका बरिष्ठ उपाध्यक्ष अर्जुन बन्जाडे लगायत विज्ञहरु पनि आउँदैछन् ।

एनआरएनए अमेरिकाले यसपालीको जनगणनामा कोही पनि नेपाली नछुटुन् भन्ने ध्येयले चेतना बढाउने निर्णय गरेको छ । सोही अनुरुप च्याप्टरहरुले सचेतना कार्यक्रम सुरु गरेका हुन् ।

अमेरिकामा नेपालीको संख्या तीन लाख माथि पुगि सकेको बताइए पनि आधिकारिक तथ्यांक न्यून छ । त्यसैले प्राय सबै सरकारी कागजातमा नेपालीले एसियाली या भारतीय एसियाली मूलबाट आफ्नो पहिचान खुलाउन बाध्य हुँदै आएका छन् । जनगणना मार्फत नेपालीको सहि तथ्यांक आएमा सरकारी पहिचान नै फरक पर्न सक्नेछ । त्यसैले सबै नेपालीलाई आफ्नो मातृभाषा खुलाएर जनगणनामा भाग लिन एनआरएनएले अपिल गरेको हो ।

न्यू ह्यामसरमा एनआरएनए, न्यू ह्यामसर नेपाली समाज लगायत बिभिन्न सामाजीक संघ संस्थाका प्रतिनिधी समेटेर जनगणनामा नेपाली सचेतनाका लागि ४५ सदस्यीय टोली समेत गठन गरिएको छ । सोही टोलीको सहजीकरणमा शनिबार दिउँसो १ बजेदेखि राज्यको हुक्सेट पुस्तकालयमा उक्त कार्यक्रम हुन लागेको हो । सन् २०१० को जनगणनामा पनि अमेरिकामा राम्रै संख्यामा नेपालीको उपस्थिती भइ सकेको थियो । तर, न्यून मात्र गणनामा सामेल भए । यसपालि भने नेपालीको वास्तविक संख्या देखाउने पहल भइ रहेको हो । त्यसले अमेरिकामा नेपाल चिनाउन पनि थप मद्दत पुग्नेछ ।