समाचार

परराष्ट्र मन्त्री जेनेभातर्फ

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली जेनेभा प्रस्थान गरेका छन् । १२ फागुनबाट शुरु हुने संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को ४३ औं उच्चस्तरीय बैठकमा भाग लिन उनी जेनेभा प्रस्थान गरेका हुन् ।

उनले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दैछन् । जेनेभामा द्वन्द्वकालीन मुद्दा निरुपणमा नेपालले पूर्णप्रतिबद्धता जनाउने मन्त्री ज्ञवालीले उल्लेख गरेका छन् ।

यसका साथै नेपालले बालअधिकारको रक्षा, बालबालिकाको शिक्षा, स्वास्थ्य, पोषण, मनोरञ्जन, खेलकूदलगायत सबै किसिमका अधिकारको रक्षामा नेपालले निर्वाह गरेका प्रवद्र्धनात्मक भूमिकाबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारीसमेत गराउने भएको छ ।

जेनभामा मन्त्री ज्ञवालीले संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि मणिप्रसाद भट्टराईले आयोजना गर्ने स्वागत समारोहमा भाग लिनेछन् ।

राष्ट्रसंघीय मानव अधिकार उच्चायुक्तसँग भेटवार्ताको कार्यक्रम समेत तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

विभिन्न मुलुकका प्रतिनिधिसँग द्धिपक्षीय भेटवार्तासमेत हुने भएको छ ।

उनी १६ फागुनमा स्वदेश फर्कने भएको छन् । यसअघि मन्त्री ज्ञवाली बंगलादेश भ्रमणबाट दुई दिन अघि मात्र फर्किएका थिए ।