डायस्पोरा

एनआरएनए अमेरिकामा सिटीजनसिप एण्ड इमिग्रेसन कमिटी, आप्रवासीका मुद्दामा केन्द्रित हुने

गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाले गठन गरेको सिटीजनसिप एण्ड इमिग्रेसन कमिटीको पहिलो बैठकले अमेरिकाको आप्रवासी मुद्दा देखि नेपाली नागरिकता निरन्तरतासम्मका एजेन्डामा सकृयता साथ काम गर्ने निर्णय गरेको छ । गत महिना संघकी बोर्ड अफ डिरेक्टर छत्रकुमारी गुरुङको संयोजकत्वमा गठित समितिकाे शुक्रबार पहिलो बैठक सम्पन्न भएको हो ।

बैठकमा एनआरएन अमेरिकाका अध्यक्ष सुनिल शाहले अमेरिकामा आप्रवास र जन्मभूमी नेपालको नागरिकता निरन्तरताका बिबिध मुद्दामा मिहिन गृहकार्यको खाँचो महसुस गरि कमिटी गठन गरेको जानकारी दिए । ‘हामी आफैं नीति निर्माता होइनौँ, उनले भने– तर कुनै पनि समस्या पहिचान नीति निर्माता समक्ष लविङ गर्न सक्र्छौँ, यो कमिटी गठनको उद्देश्य पनि त्यही हो ।’

आप्रवासी मुद्दामा विद्यार्थीका समस्या देखि विविध तवरले अमेरिका आएर इमिग्रेसन सम्बन्धि समस्या झेलेका नेपालीलाई समाधानका लागि कमिटीले उपयुक्त बाटो देखाउने उनको भनाइ थियो । त्यस्तै नेपाली नागरिकता निरन्तरताको मुद्दामा पनि तुलनात्मक रुपमा बढि चासो अमेरिकाका नेपालीलाई नै भएको कारण एनआरएनए अन्तर्राष्ट्रिय समन्वय समितिसँग निरन्तर सम्बाद र आवश्यक मुद्दामा घच्घच्याउने काम पनि कमिटीले गर्नु पर्ने उनले बताए ।

संस्थाका महासचिव पशुपति पाण्डेले यो कमिटीले मानविय क्षेत्रमा काम गर्ने बताए । बिभिन्न क्षेत्रका जानकारलाई सम्बन्धित मुद्दामा काम गर्ने अवसर पुर्याउने हेतुले अहिले एनआरएन अमेरिकाले २० च्याप्टर र ४२ कमिटीहरुलाई थप सकृय बनाउँदै लगेको उनले जानकारी दिए ।

कमिटी संयोजक गुरुङले कमिटीले स्थापनाको अवधारणा पुरा गर्ने तुरुन्त काम सुरु गर्ने बताइन् । कमिटीले आगामी दुई बर्ष भित्र गर्ने कामको योजना (टिओआर) तय गर्न रबि सिंह बस्नेत, रबिन्द्र अर्याल, भूवन अधिकारी र किर्त शाहीलाई जिम्मा दिएको छ । उनीहरुले आउँदो महिनाको बैठकमा कार्ययोजना पेश गर्नेछन् ।