समाचार

गोकुल काण्डबारे प्रचण्ड भन्छन् : गल्ती गर्नेले छूट पाउँदैनन्

नवलपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले गोकुल बास्कोटाको अडियो सार्वजनिक भएको घटनाबारे सार्वजनिक रुपमा मुख खोलेका छन् ।

उनले गल्ती गर्ने कसैलाई पनि पार्टीबाट छुट नहुने स्पष्ट पारेका छन् । प्रेस संगठन नेपाल नवलपुरले शनिबार आयोजना गरेको पत्रकार भेटघाटमा प्रचण्डले गल्ती गर्नेलाई पार्टीबाट कुनै पनि प्रकारको संरक्षण नहुने स्पष्ट पारे ।

जसले गल्ती गर्छ, ऊ कारवाहीको भागिदार हुनै पर्ने उनको भनाई छ । कमिसन रकमका लागि मोलमोलाई गर्दै गरेको अडियो सार्वजनिक भएपछि सूचना तथा संचार प्रविधि मन्त्री गोकुल बास्कोटाले राजिनामा दिएका छन् ।

उनको अडियो काण्डपछि वर्तमान सरकारको भ्रष्टाचार विरोधी अभियानबारे धेरैले प्रश्न उठाएका छन् ।

सञ्चारमन्त्रीको विषयमा आएको कुराबारे प्रधानमन्त्रीले तत्काल पहल लिएर उहाँलाई राजीनामा दिने र बाँकी अनुसन्धान गर्नुपर्ने विषय भए सम्बन्धित निकायले अनुसन्धान गर्ने भन्ने पहल लिएकाले गोकुल बास्कोटा काण्ड समाधानको विषयतिर गएको प्रचण्डको भनाई छ ।

अहिले विषय अनुसन्धानको प्रक्रियामा रहेकाले गल्ती गर्नेको पक्षमा पार्टी नउभिने स्पष्ट पारे । उनले पार्टी र सरकारका कामलाई प्रभावकारी बनाउने सम्बन्धमा गहन छलफल भइरहेको समेत उल्लेख गरेका छन् ।