अमेरिका

न्यूयोर्क शहरमा उबरको हेलिकप्टर सेवा

एजेन्सी ।

उबर कम्पनीले जुलाईको ९ तारिखदेखि प्रति यात्रु २०० डलरदेखि २२५ डलरसम्ममा न्यूयोर्कको डाउनटाउन म्यानह्याटनबाट जोनएफकेनेडी अन्तर्राष्ट्रिय बिमानस्थलसम्म हेलिकप्टर सेवा सञ्चालन गर्ने भएको छ ।

उबर उडान प्रमुख निखिल गोयलका अनुसार ८ मिनेटको उडान समयमा जेएफके बिमानस्थलको तोकिएको हेलिप्याडसम्म र त्यसपछि साबिक भाडा अन्तर्गत नै उबरको कारले सम्बन्धित टर्मिनलमा यात्रुलाई ओराल्ने जनाईएको छ । हाललाई गोल्ड र प्लाटिनम यात्रुलाई प्रदान गर्न लागिएको यो सेवा प्राप्त गर्न ५ दिन अघि उबरको एप मार्फत बुक गरिसक्नु पर्नेछ । बुक भएपछि यात्रुले बोर्डिङ पास सहितको ईमेल प्राप्त गर्नेछन् ।

एउटा क्यारी अन र अर्को एक ब्याग गरी ४० पाउण्ड मात्र पाईने यो सेवामा थप ठुला लगेजको लागि छुट्टै पैसा तिर्नु पर्नेछ । म्यानह्याटन डाउनटाउनबाट “सिटी ब्यस्त समय ट्राफिक जाम” मा २ घण्टासम्म लाग्न सक्ने भएकोले केही यात्रुको समयको महत्वलाई ध्यानमा राखी उक्त सेवा शुरु गर्न लागिएको उबरका प्रमुख एरिक एलिसनले बताएका छन् । 

बिगत ८ बर्ष यता संसारकै सबैभन्दा ठुलो र प्रख्यात यातायात सेवा प्रदायक कम्पनी उबरले अत्याधुनिक जिपिएस प्रबिधिको सहयोगमा सबै महादेशमा कार सर्भिस सेवा दिदै आएको छ । आफ्नो सेवा बिस्तार गर्ने क्रममा उबरको उबर हेलिकप्टर र उबर ईट्स पनि बिभिन्न देशमा लोकप्रिय बन्दै गएको छ ।