समाचार

वामदेवका लागि संविधान संशोधनको तयारी, कांग्रेसको आपत्ति

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले बामदेव गौतमको शर्त अनुसार संविधान संशोधनको तयारी गरेको छ ।

यसका लागि शनिबार पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको संयोजकत्वमा एक कमिटि गठन भएको छ ।

गौतमलाई नेकपाले राष्ट्रियसभा सदस्य बनाउन प्रस्ताव गरेको थियो । तर, बामदेवले भने राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्न सक्ने गरी संविधान संशोधनको शर्त राखेका छन् ।

उनको शर्तअनुसार शनिबार कमिटी गठन भएको हो । कमिटीले संविधान संशोधनको वातावरण बनाउने छ ।

तर, प्रमुख प्रतिपक्षी कांग्रेस भने यस प्रावधानको विरोधमा उत्रिएको छ ।

मधेश, जनजाति, दलित, थारूलगायतले यसअघि संविधान संशोधनको माग गरे पनि तयार नदेखिएको नेकपा एक व्यक्तिका लागि संविधान संशोधनमा तयार देखिनु तमासा भएको कांग्रेसले प्रतिक्रिया दिएको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ट्वीट गरेका छन् । उनले गम्भीर राष्ट्रिय विमर्शविना एक व्यक्तिको अनुहार हेरेर संविधान संशोधन गर्न नहुने स्पष्ट पारेका छन् ।

उनले भनेका छन्, ‘मधेसले माग्यो, संविधान संशोधन, भनियो हुन्न, जनजातिले मागे हुन्न भनियो, दलित, थारु अनि अरुले मागे तिनलाई पनि हुन्न भनियो, तर आज कोहि एक ब्यक्तिको अनुहार हेरेर संशोधन तयारी ? गम्भीर राष्ट्रिय विमर्शविना यो के तमासाको तयारी कमरेडहरु ?’