डायस्पोरा

नेपाली युवा सम्मेलन टेक्सासमा आज, युवाका विविध मुद्दामा छलफल हुने

माधव गुरुङ/टेक्सास
गैर आवासिय नेपाली संघ अमेरिकाको युवा समितिको आयोजनामा पहिलो पटक नेपाली युवा सम्मेलन आइतबार (फेब्रुअरी २३) हुँदैछ । अमेरिकाको टेक्सास राज्यस्थित टेक्सास युनिभर्सिटिको स्टार हलमा आयोजना हुन लागेको सम्मेलनमा विभिन्न राज्यमा बसोबास गर्ने नेपाली युवाहरुलगायत विभिन्न विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरुको उल्लेख्य सहभागिता रहनेछ ।

कार्यक्रममा अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुन कार्की, एनआरएन अमेरिकाका अध्यक्ष सुनिल शाह, एनआरएन अन्तर्राष्ट्रिय समितिका सचिव गौरीराज जोशीलगायत एनआरएन अन्तर्राष्ट्रिय र राष्ट्रिय समितिका पदाधिकारीहरु एवं अमेरिकामा बसोबास गर्ने विभिन्न युवा उद्यमीहरुको सहभागिता रहनेछ ।

सम्मेलनको पहिलो सत्रमा ‘नेपाल सरकार, नेपाली युवा विद्यार्थी र एनआरएन’ विषयको अन्र्तक्रिया (प्यानल डिस्कसन) हुनेछ । अन्र्तक्रियामा राजदूत डा. अर्जुन कार्की, एनआरएन अन्तर्राष्ट्रिय समितिका गौरीराज जोशी, एनआरएन अमेरिकाका सुनिल शाह, एनआरएन अमेरिकाका प्रमुख संरक्षक डा. केशव पौडेल र विद्यार्थी प्रतिनिधि मिलन कटुवालले सहभागिहरुसँग अन्र्तक्रिया गर्नेछन् । साथै, सोही अन्र्तक्रियामा युवाहरुलाई एनआरएनमा सक्रिय बनाउन चाल्नुपर्ने कदम, युवाहरुको विद्यमान समस्या र समाधानमा नेपाली राजदूतावास र एनआरएनको भूमिकालगायतका विषयमा ब्यापक छलफल हुने सम्मेलन आयोजक समितिका संयोजक सन्देश उप्रेतीले जानकारी दिए ।

यसैगरी सम्मेलनको दोस्रो सत्रमा ‘युथ/हेल्थ, कल्चर एक्सचेन्ज/इन्टर्नसिप र यूथ/इन्टरपण्यूरसिप’ विषयमाथि विकास रुवालीलगायतले सहभागीहरुसँग अन्तक्रियामा गर्नेछन् भने तेस्रो तथा अन्तिम ‘मोटिभेशनल’ सत्रमा डा. तारा सिग्देल, डा. सिजर कोइराला र एनआरएन अमेरिकाका महासचिव पशुपति पाण्डेले सहभागीहरुसँग अन्तक्रिया गर्नेछन् ।

साथै कार्यक्रममा अमेरिकी जनगणना २०२०, नेपाल भ्रमणबर्ष २०२० र अमेरिकी आईडल सहभागी दिवेश पोखरेललाई नेपाली युवा एवं विद्यार्थी र एनआरएनले कसरी सहयोग एवं टेवा पुर्याउने भन्ने विषयमा पनि ब्यापक अन्तक्रिया हुने एनआरएन अमेरिका युवा समितिका संयोजक विनोद रुवालीले जानकारी दिए । अमेरिकाका पहिलोपटक युवा लक्षित सम्मेलन हुन लागेकाले सम्मेलनलाई विशेष महत्वकासाथ हेरिएको छ ।