विश्व

८५ जना बिरामीको हत्या गर्ने नर्सलाई आजिवन काराबास

एजेन्सी ।

जर्मनीका एक ४२ वर्षिया पूर्व नर्स निल्स हगललाई ८५ जना बिरामीहरुलाई उपचारको क्रममा गलत औषधी प्रयोग गरी हत्या गरेको कसुरमा उच्च अदालतले आजिबन काराबासको सजाय सुनाएको छ ।

उक्त घटना उत्तरी जर्मनीको डेलमेनहर्स्ट र ओल्डनबर्ग शहरमा सन् १९९९ देखि २००५ सम्ममा घटेको हो । न्यायाधीश सेब्यास्टियन ब्युर्मेनले अभियुक्तको कार्यलाई ‘सामान्य बुझाइ भन्दा बाहिर रहेको’ बताएका छन् ।

यस अघिनै दुईजनाको हत्या गरेको अपराधमा सजाय काटिरहेका हगलले उनको संरक्षकत्वमा रहेका मानिसहरूलाई मुटु रोग सम्बन्धी औषधीको घातक मात्रा दिने गरेा थिए । उनलाई जर्मनीको आधुनिक इतिहासमै सबैभन्दा धेरै हत्या गर्ने व्यक्तिको रूपमा लिइएको छ ।

घटनाको अनुसन्धानकर्ताको अनुसार उनले सहकर्मीहरू माझ आफ्नो प्रभाव जमाइ राख्न विरामीहरुलाई औषधीको घातक मात्रा दिन्थे र त्यसपछि उनीहरुलाई बचाउने कोसिस गर्दथे । एक रिसर्चरलाई उदृत गर्दै जर्मन पत्रिका बिल्ड लेख्छन् ‘मुटुको धडकन कमजोर भएका विरामीहरुलाई बचाउने प्रयासमा हगल सधै अग्रसर रहन्थे’ ।

बयानको अन्तमा हगलले आफुले मारेका विरामीहरुका परिवासंग आफ्नो कार्य भयावह भएको स्वीकार गर्दै “मैले विगतमा तपाईहरूप्रति गरेको सबै कामका लागि माफी माग्छु,” उनले भने ।उनले त्यो भन्दा धेरै विरामीहरू मारेको हुनसक्ने प्रहरीको विश्वास छ तर उनीहरूको अन्तिम संस्कार गरिएसंगै सबै सम्भावित प्रमाण नष्ट भएको हुन सक्ने बताईको छ ।

हगलले ५५ वटा हत्या गरेको स्वीकार गरेपनि ओल्डेनबर्गस्थित अदालतले उनलाई ८५ जनाको हत्याको अभियोगमा दोषी ठहर गरेको जर्मन संचार माध्यमहरूले जनाएका छन् । उनले सन् २००५ मा एक जना विरामीलाई चिकित्सकले नलेखेको औषधि दिइरहेको अवस्थामा समातिएपछि मात्र उनको त्यसरी बिरामी मार्ने क्रम रोकिएको थियो ।

उनलाई सन् २००८मा सात वर्षको जेल सजाय सुनाइएको थियो तर उनले हत्या गरेको आशंका गरेका पीडितका परिवारहरूले थप अनुसन्धानको माग गरेपछि थप अनुसन्धान थालेको थियो । सन् २०१५ मा सकिएको दोस्रो सुनुवाईमा दुईजनाको ज्यान लिएको अभियोगमा उनले आजीवन कारावासको सजाय पाएका थिए ।