समाचार

सेक्युरिटी प्रेस काण्डको छानविन हुनुपर्छ : देउवा

बुटवल । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा थप छानविनको आवश्यकता औल्याएका छन् ।

निवर्तमान सञ्चारमन्त्री गोकुल बास्कोटा मात्र यस काण्डमा एक्लै संलग्न हुन नसक्ने भन्दै छानविनको आवश्यकता औल्याएका हुन् ।

एक अर्बको डील मन्त्री एक्लैले गर्न नसक्ने भन्दै उनले उच्चस्तरीय छानविनको माग गरेका छन् ।

कांग्रेस रुपन्देहीका नेता तथा राष्ट्रिय सभा सदस्य दुर्गाप्रसाद उपाध्यायको श्रद्धान्जली सभाका लागि बुटवलमा पुगेका उनले बास्कोटा एक्लैले एक अर्बको डिल गर्न सम्भव नहुने तर्क गरे ।

यस काण्डलाई सामान्य रुपमा लिन नहुने भन्दै बास्कोटा एक्लैले त्यत्रो काण्ड गरे भनेर पत्याउने आधार नभएको उल्लेख गरे ।

७० करोड रुपैया घुसको डिल गर्दैगर्दाको अडियो सार्वजनिक भएपछि सूचना तथा संचार मन्त्री गोकुल बास्कोटाले राजिनामा दिएका छन् ।

‘भ्रष्टाचार गर्दिन र अरुलाई पनि गर्न दिन्न’ भन्ने प्रधानमन्त्री एकपछि अर्को भ्रष्टाचार काण्डमा फसेको भन्दै देउवाले प्रधानमन्त्रीको समेत आलोचना गरे ।

भ्रष्टाचारका अनेकन काण्ड आइरहेको तर सरकार भने भ्रष्टाचारी लुकाउन नीतिगत रुपमै लागेको उनले उल्लेख गरे ।