फिचर

रवीन्द्र अधिकारी चढेको हेलिकप्टर दुर्घटनाको प्रतिवेदन,मुख्य दोषी को ?

काठमाडौं । तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको ज्यान जाने गरी एक वर्षअघि ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनाको मुख्य कारक पाइलट रहेको अन्तिम छानबिन प्रतिवेदनले देखाएको छ ।

घटनाको छानबिन गर्न सरकारले पूर्वसचिव यज्ञ गौतमको संयोजकत्वमा बनाएको आयोगद्वारा तयार पारिएको प्रतिवेदनले पनि २७ वर्षीय पाइलट प्रभाकर केसीलाई मुख्य दोषी औंल्याएको हो ।

प्रतिवेदनले पाथीभराबाट फर्किंदा इन्जिन स्टार्ट गरेलगत्तै क्याप्टेनले क्विक टेकअफलाई युफोरियाको प्रभावको कारण भनेको छ ।

उडानका क्रममा अक्सिजनको अभावका कारण हुने हाइपोक्सियाभन्दा अघिको चरणलाई युफोरिया भनिन्छ । प्रतिवेदनले दुर्घटनाको कारण प्रतिकूल मौसम पनि भएको उल्लेख गरेको छ ।

मौसमको प्रतिकूलता र हेलिकप्टरले पूर्ण यात्रु क्षमतामा उडान भरेका कारण अगाडिको सिसामा वाफ जमेको हुन सक्ने र त्यसका कारण पनि पाइलटले बाहिरको दृश्य ठम्याउन नसकेको निष्कर्ष छानबिन आयोगले निकालेको छ ।

हेलिकप्टरमा काठमाडौं–तेह्रथुम–काठमाडौं उडानका लागि मात्रै इन्धनको व्यवस्था गरेको देखिएकाले पाथीभरा उडानको पूर्वयोजना नभएको पनि प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै चुहानडाँडाबाट पाथीभरा उडान भर्दा त्यो रुटको मौसम प्रतिकूल रहेको र पाइलटले भिजुअल फ्लाइट रुललाई पूर्ण रुपमा पालन गर्न नसकेको प्रतिवेदनमा उल्लेख छ ।

यस्तै नागरिक उड्डय प्राधिकरण तथा हेलिकप्टर कम्पनीको नियममा अति विशिष्ट व्यक्ति सवार हुँदा के गर्ने भन्ने नीति नभएको पनि उल्लेख गरिएको छ ।

वि.स.२०७५ साल फागुन १५ गते ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको मृत्यु भएको थियो ।