विश्व

अमेरिका-भारतबीच तीन अर्ब अमेरिकी डलरको रक्षा सम्झौता

नयाँदिल्ली । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र भारतबीच तीन अर्ब अमेरिकी डलर बराबरको रक्षा सम्झौता भएको बताएका छन् । दुई देशका प्रतिनिधिबीच भएको वार्तापछि भएको संयुक्त प्रेस कन्फरेन्समा राष्ट्रपति ट्रम्पले यसको जानकारी दिएका हुन् ।

ट्रम्पले दुवै देशका नेताबीच आफ्नो नागरिकलाई कट्टर इस्लामी आतंकवादु बाट बचाउन प्रतिबद्ध भएको र अमेरिकाले यसका लागि थप काम गरिरहेको बताए । उनले यस विषयमा पाकिस्तानसँग पनि कुरा भइरहेको बताए । उनले भने, “पाकिस्तानमा रहेको आतंकवादु लाई अन्त्य गर्न विषयमा पाकिस्तानसँग कुरा भइरहेको छ ।”

ट्रम्प र मोदी दुबै नेताले द्विपक्षी व्यापारले दुई अंकको आर्थिक वृद्धि भएकोमा खुसी व्यक्त गरे । यसअघि प्रधानमन्त्री नरेन्द्र मोदीले दुबै देशबीच अन्य कयौं सम्झौता हुने जानकारी दिएका थिए । उनले भने, “दुबै नेताबीच भएको यो पाँचौं भेटघाट हो । जुन निकै सार्थक र सकारात्मक भएको छ ।”

प्रधानमन्त्री नरेन्द्र मोदीले भारत(अमेरिकाबीच २१औं शताब्दिकै महत्त्वपूर्ण साझेदारी भएको बताए । उनले भने, “रक्षा, उर्जा, प्रविधि र व्यापारका क्षेत्रमा महत्वपूर्ण प्रगति भएको छ ।”

अमेरिकी राष्ट्रपति ट्रम्पले पत्रकार सम्मेलनमा भने, “मैले कार्यभार सम्हालेपछि अमेरिकी निर्यात ६० प्रतिशत बढेको छ ।” उनले भारतको उर्जा आवश्यकतालाई पूरा गर्ने सम्झौता भएको जानकारी दिए । जसअन्तर्गत एक्सन मोबिलले भारतसँग मिलेर प्राकृतिक ग्यास वितरण सुधार्ने सम्झौता भएको छ ।

प्रधानमन्त्री मोदीले अमेरिका भारतका लागि तेल र ग्यासको स्रोत भएको स्वीकार गरे ।

दुई दिने भ्रमणका लागि भारत पुगेका अमेरिकी राष्ट्रपति ट्रम्पले सोमबार भारत यात्राको अनुभव शानदार भएको बताएका थिए । हैदरावाद हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा उनले भने, “भारत यात्रा मेरा लागि सम्मानीय रह्यो । नरेन्द्र मोदीलाई भारतीयहरु निकै माया गर्छन् ।”

प्रधानमन्त्री मोदीले पनि राष्ट्रपति ट्रम्पको भारत यात्रा आफ्नालागि सम्झनायोग्य भएको बताए । – बीबीसी