डायस्पोरा

जनगणना सचेतनाका लागि न्यू ह्यामसरमा छलफल, सबैलाई आफ्नो पहिचान खुलाउन आह्वान

न्यू ह्यामसर
आउँदो अप्रिलबाट सुरु हुन लागेको अमेरिकी जनगणनाबारे सचेतना अभिबृद्धिका लागि न्यू ह्यामसरमा छलफल कार्यक्रम आयोजना भएको छ । सबै नेपालीलाई जनगणनामा भाग लिन र आफ्नो पहिचान खुलाउन अपिल गर्ने उद्देश्यले गत शनिबार (फेब्रुअरी २२) कार्यक्रम आयोजना गरिएको हो ।

न्यू ह्यामसर नेपाली समाज र गैर आवासीय नेपाली संघ (एनआरएनए) न्यू ह्यामसर च्याप्टरको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा एनआरएनए अमेरिकाका बरिष्ठ उपाध्यक्ष डा. अर्जुन बन्जाडे, अधिकारकी नर्वदा क्षेत्री लगायतले प्रस्तुती दिएका थिए । उनीहरुले नेपालीले आफ्नो पहिचान खुलाएमा त्यसले आधिकारिक तथ्यांक मात्र नभइ नीति निर्माणमै नेपाली समुदायको प्रभाव बढाउने बताए ।

युएस सेन्सर ब्युरोका प्रतिनिधी चाल्र्स एफ. नेटलशिपले सबै अल्पसंख्यक समूदायले आफ्नो पहिचान खुलाएर विवरण भर्न आह्वान गरे । सेन्सर ब्युरोले जारी गरेको नमुना जनगणना फारम अनुसार पहिलो कोलममा घरमूलीको विवरण हुनेछ । त्यसको नवौं बुँदामा सहभागिले आफ्नो पहिचान खुलाउन सक्नेछन् । एनआरएनए लगायत नेपाली सामाजिक संघ संस्थाले उक्त बुँदामा अन्य एसियाली लेखिएको ठाउँमा चिन्ह लगाइ त्यसमुनी रहेको कोष्टकमा आफैँले नेपाली (ल्भ्एब्ीक्ष्) लेख्न अनुरोध गरेका हुन् । त्यस्तै घरमूली पछिका अन्य सदस्यको हकमा भने पहिचान खुलाउने ठाउँ बुँदा नम्बर सातमा रहेको छ ।

अमेरिकामा जनगणना पश्चात निर्वाचन क्षेत्रहरुको पुर्नसंरचना हुने गरेको छ । त्यस अनुरुप जहाँ जनसंख्या बढि भयो त्यहाँ धेरै जनप्रतिनिधी देखि विकास निर्माणका लागि संघीय बजेटसम्म त्यही अनुरुप धेरै उपलब्ध हुन्छ । गणनामा अमेरिकी नागरिक मात्र नभइ जुनसुकै ‘स्टाटस’का व्यक्ति पनि सहभागि हुन पाउँछन् र उनीहरुले भरेको विवरण गोप्य रहन्छ । बजेट देखि जनप्रतिनिधीको संख्यासम्म तय हुँदा सम्बन्धित क्षेत्रमा बसोबास गर्ने व्यक्तिको स्टाटसलाई चासो दिइन्न । जहाँ धेरै मान्छेको बसोबास हुन्छ त्यही अनुरुप धेरै बजेट तय हुन्छ । सोही कारण जनगणनामा अमेरिकामा बसोबास गर्ने कोही पनि नछुटुन् भनेर सरकार देखि सामाजिक संघ संस्था सबैले चाहेका हुन् ।

नेपालीको हकमा भने छिमेकी भारत देखि भियतनामसम्मका व्यक्तिहरुले अमेरिकामा छुट्टै पहिचान बनाइ सकेका छन् । सबै नेपालीले आफ्नो पहिचान खुलाइ दिएमा आफुहरुको पनि प्रभाव विस्तार हुने यहाँस्थित अगुवाहरुको मत छ । अमेरिकामा नेपालीको संख्या तीन लाख माथि पुगि सकेको बताइए पनि आधिकारिक तथ्यांक न्यून छ । त्यसैले प्राय सबै सरकारी कागजातमा नेपालीले एसियाली या भारतीय एसियाली मूलबाट आफ्नो पहिचान खुलाउन बाध्य हुँदै आएका छन् । सन् २०१० को जनगणनामा पनि अमेरिकामा राम्रै संख्यामा नेपालीको उपस्थिती भइ सकेको थियो । तर, न्यून मात्र गणनामा सामेल भए । यसपालि भने नेपालीको वास्तविक संख्या देखाउने पहल भइ रहेको हो ।

शनिबारको कार्यक्रममा भुटानी नेपालीहरुका तर्फबाट आफ्नो भनाइ राखेका टिका आचार्यले आफुहरु पनि जनगणनामा नेपाली भनेर खुलाउन तयार रहेको बताएका थिए । त्यसो भएमा नेपालीको आँकडा अझ मजबुत आउनेछ । न्यू ह्यामसरमा एनआरएनए, न्यू ह्यामसर नेपाली समाज लगायत बिभिन्न सामाजीक संघ संस्थाका प्रतिनिधी समेटेर जनगणनामा नेपाली सचेतनाका लागि ४५ सदस्यीय टोली समेत गठन गरिएको छ । शनिबारको कार्यक्रमले नेपालीहरुलाई जनगणनामा पहिचान सहित सामेल गराउन महत्वपुर्ण सन्देश प्रवाह गरेको उक्त टोलीकी संयोजक एवं एनआरएनए न्यू ह्यामसर च्याप्टर उपाध्यक्ष सुन्दरी गुरुङले विश्वसंदेशलाई जानकारी दिइन् । कार्यक्रममा अधिकारकी मेघा लामाले टिपिएस लगायत इमिग्रेसनको पछिल्लो अवस्था बारे समेत जानकारी गराएकी थिइन् ।