बिचार

स्व. गजेन्द्र केशरी वास्तोलाज्युको स्मृतीमा

विनोद रोका / एटर्नी एट ल, न्यूर्योक

स्व. गजेन्द्र केशरी वास्तोलाज्युलाई मैले २०३८ सालमा सर्बोच्च अदालतमा रहेको उहाँकै ईजलाशमा भेटने मौका पाएको थिएँ । त्यसबेला म नेपाल ‘ल’ क्याम्पस काठमाडौंमा स्नातक तहमा अध्ययन गर्दै थिए । देशमा पंचायती व्यवस्था थियो। बामपन्थी खेमाका प्राध्यापक एवं विद्यार्थीहरुको बिचारलाई संम्प्रेषण गर्न ल कलेजमा अध्ययनरत गोपाल शिवाकोटी ‘चिन्तन’ पैरवी निकाल्थे । जसमा प्राध्यापकहरु शुभाष नेम्वाङ् दाईहरुको सहयोग रहेको थियो । यसै मेसोमा २०३८ सालमा प्रजातान्त्रिक खेमामा सकृय वकिल हरिहर दाईले मलाई “न्याय प्रतीक” पत्रिका निकाल्ने प्रेरणा दिनु भो । र प्राध्यापकहरु बद्रिबहादुर कार्की र रजितभक्त प्रधानाङ्ग लगायतले लेखादि दिएर सहयोग पुर्याउनु भो ।

पत्रिकाको लोगोको अवधारणा तत्कालिन सर्बोच्च अदालतका न्यायाधिश स्व. गजेन्द्रकेशरी वास्तोलाले बनाई दिनु भयो।

न्यायमुर्ती बास्तोलाले बनाएको न्याय-प्रतीक पत्रिकाको लोगोमा आँखामा पट्टी नबाँधिएकी, हातमा कानूनको किताब, तराजु, र खड्ग निशान लिएकी देवीको चित्र थियो । मैले उहाँसँग आधुनिक न्याय प्रणालीमा रहने आँखामा पट्टी, कानूनको किताब र तराजू लिएकी देवीको प्रसंग उठाउँदा उहाँले भन्नु भयो; “हेर तिमीहरु आजको पश्चिमा विधिशास्त्र हेरेर न्याय र कानूनका सबै सिद्धान्तहरु पश्चिमबाट आएका भन्छौ त्यो होईन, यी न्यायका शिद्धान्तहरु त हाम्रा पुर्विय वैदिक साहित्यमा हजारौ बर्ष अगाडिदेखि चलि आएका हुन्” भन्दै वेद, गिता, उपनिषद, पुराण, मनुस्मृती, याज्ञवलक्य स्मृती आदिमा उल्लेखित उद्धरणहरु दिनु हुन्थ्यो। अनि भन्नु हुन्थ्यो “हाम्रो पद्धतीमा एउटा विवादमा प्रतिपादित भएको विवादको नजिरले त्यही किसिमका तथ्यहरु भएका पछिल्ला सबै मुद्दामा न्याय नपर्न पनि सक्छ । जस्तो कि धान कुटेर चामल निकाल्दा भुस फाल्न निफनिन्छ । तर पनि निफनेको चामलमा बिँया बाँकी रहन सक्छ । र निफनी सकेपछि रहेको बिँयालाई केलाएर चामलबाट निकाल्नु पर्दछ। हाम्रो पद्धतिमा न्यायकर्ताले नजिर मिल्यो भनेर मात्र पुग्दैन, त्यो नजीरले न्याय निरुपण गरिन लागेको विवादम न्याय पर्यो कि परेन भनेर विवेकपुर्वक हेर्नु पर्दछ । यदि परेन भने नजीरको फैसला होईन, विवेकको फैसला गरेन न्याय प्रदान गर्नु पर्दछ । तर पश्चिमा नजीरबादीहरु यसो गर्न चाहदैनन् ।

यो न्यायप्रतीक पत्रिकाको कारणले मैले सर्बोच्च अदालत र अन्य अदालतका न्यायाधिशहरु, अधिकृतहरु, कानूनका प्राध्यापक, सरकारी वकिलहरुको सम्पर्कमा पुग्ने मौका पाए । सहपाठी मित्र, सहकर्मी र सहयोगी भाईहरु, र सल्लाहकारहरुको सहयोगले मैले यो पत्रिकाको सम्पादन र प्रकाशन गर्ने काम १९९८ सम्म अमेरिका आऊनु भन्दा अगाडिसम्म गरे । र मित्र नारायण घिमिरेजी सहगोगी सम्पादकको रुपमा रहनु भयो ।

म चियाको ब्रेकमा बास्तोला श्रीमानको ईजलाशमा जान्थे। मलाई उहाँ कालो चियाले सत्कार गर्नु हुन्थ्यो । उहाँले समकालीन बिषयका बारेमा सोध्ने र आफना धारणाहरु सुनाउनु हुन्थ्यो । न्यायमुर्ती बास्तोलाले पत्रिकामा प्रकाशनका लागि दिने लेखहरु ह्स्तलिखित नै हुने गर्दथे। पत्रिकामा छापिने लेखहरुको प्रुफ म आफै हेर्दथे । तर मेरो भाषामा रहेको अल्पज्ञानले गर्दा उहाँले मलाई लेखको अन्तिम प्रुफ लिएर चियाको समयमा सर्बोच्चमा आऊने सल्लाह दिनुहुन्थ्यो । म उहाँलाई भेटन जान्थे ।

मलाई पाठकहरुले भन्थे हैन वास्तोला श्रीमानको लेखमा किन यति लामो पाद टिप्पणी राखेको ? किनकि उहाँले लेख्ने कतिपय कानूनी लेखमा लेखका अंश भन्दा बढी पूर्वीय न्यायका शिद्धान्तहरु पाद टिप्पणीमा रहने गर्दथे । म उहाँलाई ती अरुले गरेका टिप्पणीहरु सुनाउँथे । उहाँ भन्नुहुन्थ्यो तिमीहरु म जस्तालाई चारपासे भनेर हेला गर्छौ । मैले मेरा लेखमा पश्चिमाहरुले गरेका फैसला र प्रतिपादन गरेका कानूनी शिद्धान्तहरु समावेश गरेको कारण छ । त्यो कारण के हो भने ती सिद्धान्तहरु हामीकहाँ हजारौ बर्ष अगाडि नै प्रचलनमा रहेको थिए भन्ने तथ्य आधुनिक शिक्षा पढ्नेहरुलाई बुझाउन ती पाद टिप्पणी लेखेको हुँ । पढेर त हेर अनि बुझ्छौ, किन लेखेको भनेर । उहाँले एक पटक भन्नु भएको थियो हेर विरेन्द्र राजाले लालमोहर लागेको मात्रै कानून हुन्छ र ? मैले गरेको फैसला पनि नजीर हो । र कानून सरहकै मान्यता पाउँछ ।

राजाले लालमोहर हानेको कानून भन्दा पनि न्यायिक फैसलामा बोलिएको कानून दिगो र टिकाऊ हुन्छ। उहाँका बिचारहरु सबै सही नहोलान तर मलाई अहिलेसम्म पनि उहाँका बिचारहरु सान्दर्भिक लाग्दछन् । जस्तो कि आधुनिक विधिशास्त्रमा सालमण्ड, सिसिरो, ए.जे.हार्ट आदिका बिचारहरुको बाहुल्यता रहेपनि जोन अष्टिनको बिचार कानून पालनामा दण्डको भए नराखिने हो भने कसैले पनि गर्दैनन भन्ने जस्ता बिचार आलोचित होलान तर असान्दर्भिकै छैनन् ।

मैले २०४० सालमा अधिवक्ताको प्रमाणपत्र पाएँ । अनि सर्बोच्च बारको सदस्य भएँ । उहाँ अध्ययन र अभ्यासमा बढी मेहनत गर भन्नुन्थ्यो। वास्तोला श्रीमानले मलाई मध्यमाञ्चल क्षेत्रीय अदालतमा वैतनिक वकिलको लागि सिफारिस गरिदिनु भो । मुख्य न्यायाधिश मोहन प्रसाद शर्माले मलाई दुई अवधिसम्मका लागि काम गर्ने मौका दिनु भो । अनि सर्बोच्च अदालतमा पनि एक पटक वैतनिक वकिल भएँ । उहासंगको सम्पर्कले गर्दा मैले सर्बोच्च अदालतका तत्कालीन अन्य न्यायमुर्तिहरु र सर्बोच्चमा कार्यरत रहनु हुने आनन्दमोहन भटृराई, शेषराज शिवाकोटी, काशिराज दाहाल, शंकर कुमार श्रेष्ठ, डिल्लीराज आचार्य लगायतका विद्धान व्यक्तित्वहरुबाट लेख रचनाहरु पाऊने गर्दथे ।

यही प्रत्रिकामा संलग्न रहेको कारणले गर्दा म सर्वोच्च अदालतमा म अधिवक्ताको हैसियतले वकालत गर्न गएको पहिलो बर्ष २०४१ मै जस्तो लाग्छ । दमननाथ ढुंगानाको अध्यक्षतामा गठित सर्बोच्च बारको कार्य समितिमाको सदस्य हुने मौका पाएँ । यस बेला वैद्यनाथ उपाध्याय सचिव हुनुहुन्यो । किनकि म सर्बोच्च बारको लागि अपरिचित अनुहार थिईन। सबैले मलाई माया गर्नु भयो। मैल २०४६ सालको जन आन्दोलनको समयमा रामगोपाल श्रेष्ठको अध्यक्षतामा गठिन कार्य समितिमा सर्बोच्च अदालत बारको सचिव भई काम गर्ने अवसर पाएँ । आन्दोलनमा सकृय हुने् अवसर मिल्यो । सर्बोच्च बारको कार्य समितिले बहुदलको माग गर्दै पारित गरेको प्रस्ताव बोकेर बारका अग्रज सदस्य श्रीहरी अर्यालको मोटरसाईकलमा चढेर सो प्रस्ताव जमलमा लिएर जाने मौका पाएको थिएँ । किशुनजीले त्यो पत्र पाउने वित्तिकै बारलाई धन्यवाद दिएर सो पत्र अंग्रेजीमा पनि अनुबाद गरेर प्रचार गर्ने आदेश दिनु भएको थियो।

त्यसपछि मैले नेपाल बारको कार्य समितिमा लक्ष्मण अर्यालको अध्यक्षता सदस्यको हैसियतले काम गर्ने अवसर पाएँ जसमा शुभाष नेम्वांग सचिव, कृष्ण प्रसाद पन्त, मोहनकृष्ण खरेल आदि पनि सदस्य रहनु भएको थियो । मैले यही समयमा न्यायदुतको सम्पादक मण्डल र प्रकाशन समितिको सदस्य भै काम गर्ने अवसर पाएँ । २०५३ सालमा नेपाल बारको सचिव पदको प्रजातान्त्रिक समुहको तर्फबाट उम्मेदवार भै हरिकृष्ण कार्कीसंग प्रतिस्पर्धा गर्ने अवसर पाएँ । म अप्रिल ५, १९९८ अर्थात २०५४ चैत्र २३ गतेका दिन अमेरिकाको न्युयोर्क शहरमा आई पुगें, जुन दिन संयोगले मेरो जन्मदिन समेत परेको रहेछ ।

हाल म न्युर्योक शहरमा व्यवसाय गरेर बसी रहेको छु । तर पनि ती दिनहरुलाई स्मरण गर्ने गर्दछु। त्यसैले मैले विनोद रोका “न्याय प्रतीक सम्मान” कानूनी राज, स्वतन्त्र न्यायपालिका, र निष्पक्ष न्याय सम्पादनका लागि विषेश योगदान पुर्याउने स्वदेश वा विदेशमा रहनु हुने व्यक्ति वा निकायलाई प्रदान गरियोस् । उक्त सम्मानको लागि सर्बोच्च अदालत बार एशोसियसनको अक्षयकोषमा ३ लाख ५१ हजार रुपैयाँ जम्मा गरी सोबाट आउने व्याजबाट उक्त सम्मान प्रत्येक दुई बर्षमा सर्बोच्च अदालत बारले आफ्नो बार्षिक कार्यक्रमका दिन वा यस्तै समारोहका दिन प्रदान गरोस् । अनि सम्मानपत्रमा सर्बोच्च अदालतका तत्कालीन न्यायाधिश स्व. गजेन्द्र केशरी बास्तोलाज्युले न्याय-प्रतीक पत्रिकाको लागि बनाईदिनु भएको लोगो रहोस भनि २०७६ सालमा अनुरोध गरेको थिए। जसलाई अध्यक्ष बरिष्ट अधिवक्ता खगेन्द्र अधिकारीजीले नेतृत्व गरेको कार्य समितिले स्वीकार गरेर मलाई आभारी बनाएको छ। तर लोगोमा भने उहाँहरुको सहमति हुन सकेन ।