विश्व

ट्रम्पको भारत भ्रमणः कश्मीर विवादमा किन बोलेनन् ?

काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले दुईदिने भारत भ्रमणले विश्वभर नै चर्चा पायो । वाशिङटन र नयाँ दिल्लीबीच अनेकौं मतभेद रहे पनि भ्रमणमा भने तामझामले झपक्कै छोपेको थियो ।

सोमवार भारतीय भूमिमा टेकेदेखि बेलुका राजधानी दिल्लीमा होटेलको प्रेसिडेन्सियल सुइटसम्म ट्रम्पले आफ्नो वरिपरि स्वागतका लागि पंक्तिबद्ध मानिस मात्र देखे ।

अहमदाबादमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ट्रम्प र उनकी पत्नी मेलानियालाई एयर फोर्स वान विमानको भर्‍याङमै पुगेर स्वागत गरे । त्यसपछि ट्रम्पको प्रतिनिधिमण्डललाई महात्मा गान्धीको साबरमती आश्रम लगियो अनि उनले आफ्नो राजनीतिक करीयरको सबभन्दा ठूलो सम्बोधन गरे ।

मोदीले ११ मिनेटको संक्षिप्त स्वागत भाषण गरेका थिए भने ट्रम्पले करिब २४ मिनेट भाषण गरेका थिए । आफ्नो भाषणमा ट्रम्पले मोदीलाई असल मित्र तथा दरो वार्ताकारको रुपमा चित्रण गरे ।

साथै, भारतीय लोकतन्त्र र विविधतापूर्ण समाजको प्रशंसा गरे । ट्रम्पले स्वामी विवेकानन्ददेखि क्रिकेटर सचिन तेन्दुलकर, विराट कोहली र भारतीय सिनेमा ‘दिलवाले दुल्हनियाँ ले जाए’सम्मको नाम लिन भ्याए । ट्रम्प साबरमती आश्रम पुगेर स्टेडियम आएका थिए । नमस्ते ट्रम्प कार्यक्रमपछि ताज महल घुम्न आग्रा गए ।

त्यसपछि ट्रम्प परिवार दिल्ली पुगेको थियो । तर ट्रम्प दिल्ली जाँदै गर्दा दिल्लीका मुस्लिम बहुल उत्तरी इलाकामा नागरिकता कानूनको विरुद्धमा प्रदर्शन भइरहेको थियो । दुई समूह र प्रहरीबीचको झडपमा १० जनाको मृत्यु भइसकेको थियो । पछिल्लो विवरण अनुसार झडपमा परी १७ जनाको ज्यान गइसकेको छ ।

ट्रम्प भारत भ्रमण गर्ने ७ औं राष्ट्रपति हुन् । ट्रम्पभन्दा अघि आइजनआवर, रिचार्ड निक्सन, जिमी कार्टर, बिल क्लिन्टन, बुस जुनियर र बाराक ओबामाले भारत भ्रमण गरेका थिए । ओबामाले आफ्नो राष्ट्रपतीय कार्यकालमै दुईपटक भारत भ्रमण गरेका थिए ।

सन् १९९० अघि भारतका लागि अमेरिकाको महत्व कम थियो । शीतयुद्ध कालमा भारत सोभियत धुरीको राज्य थियो । सोभियत संघको पतनपछि भारतले अमेरिकासँगको सम्बन्धमा विशेष जोड दिन थालेको हो । शीतयुद्धकालमा पाकिस्तान अमेरिकाको नजिक थियो । ट्रम्पको मटेरा सम्बोधनमा यो यथार्थको छाप लेखिन्थ्यो ।

ट्रम्पले पाकिस्तानलाई पनि सँगसँगै लिएर हिंड्ने बताएका थिए । उनले इस्लामिक अतिवादी आतंकवाद र आईएसको विरोध गरे तर कश्मिर मामिला र पाकिस्तानको बारेमा कुनै नकारात्मक अभिव्यक्ति दिएनन् । बरु भारत यो क्षेत्रमा अमेरिकाको सबैभन्दा ठूलो सुरक्षा साझेदार हुने धारणा राखे । भ्रमणको दोस्रो दिन अमेरिका र भारतबीच २.६ बिलियन डलर बराबरको हेलिकप्टर खरिदको सम्झौता भएको छ । यी हेलिकप्टर भारतले अमेरिकासँग किन्नेछ ।