समाचार

अर्थ मन्त्रालयले भन्यो : पेट्रोलियम पदार्थको भाउ बढ्दैन

काठमाडौं । अर्थ मन्त्रालयले पेट्रोलियम पदार्थमा गरिएको करको दर परिवर्तनका सम्बन्धमा स्पष्टिकरण सार्वजनिक गरेको छ । अर्थले करको दरले उपभोक्ता मूल्यमा कुनै प्रभाव नपर्ने भन्दै ढुक्क हुन उपभोक्तालाई आग्रह गरेको हो ।

मन्त्रिपरिषद्ले करको दरमा हेरफेर गर्दै पेट्रोलियम पदार्थमा लाग्ने कर बढाएको छ । यसअघि प्रतिलिटर ५ रुपैयाँ रहेको पूर्वाधार कर अब प्रतिलिटर १० रुपैयाँ पुगेको छ ।

यस निर्णयको व्यापक आलोचना भइरहेको छ ।

अहिलेको दर पुनरावलोकन गर्दा नेपाल आयल निगमद्वारा समायोजित स्वचालित मूल्य प्रणाली, पेट्रोलियम इन्धन पैठारीको परिमाणात्मक अवस्था, भौतिक पूर्वाधार विकासका लागि स्रोत परिचालनको आवश्यकता समेतलाई ध्यानमा राख्दा हाल बजारमा कायम रहेको उपभोक्ता मूल्यमा कुनै प्रभाव नपर्ने तथा निगमको स्वचालित मूल्य प्रणालीबाट कायम हुने मूल्यमा असर नगर्ने व्यवस्था मिलाईएको मन्त्रालयले उल्लेख गरेको छ ।

हाल नेपाल आयल निगमको नाफा एवम् बित्तीय अवस्था सहज भएको र अव सिर्जना हुने निगमको नाफा पूर्वाधार विकासमा खर्च गर्न पर्याप्त हुने देखिएको समेत अर्थ मन्त्रालयले जारी गरेको विज्ञप्तीमा राखिएको छ ।

त्यसैले करको दर परिमार्जन गर्दा उपभोक्ता मूल्यमा वृद्धि नगरीकन नै निगमको वित्तीय अवस्था सुदृढ रहने स्थिति रहेको मन्त्रालयको स्पष्टिकरण छ ।

अर्थ मन्त्रालयका अनुसार आर्थिक ऐन, २०७६ को दफा ९ बमोजिम नेपालमा पैठारी हुने हवाई इन्धन, पेट्रोल र डिजेलमा भन्सार विन्दुमा असुल गरिने पूर्वाधार विकास करको दरमा पुनरावलोकन गरिएको हो ।

नेपाल सरकारले आवश्यकताअनुसार ऐन र प्रचलित कानूनबमोजिम लगाइएका दस्तुर, शुल्क, महसुल र करको दर घटाउन, बढाउन वा त्यस्तो दस्तुर, शुल्क, महसुल र कर आंशिक वा पूर्णरुपमा छुट दिन सक्ने कानूनी व्यवस्था अनुसार करको दर परिवर्तन गरिएको अर्थ मन्त्रालयका प्रवक्ता उत्तरकुमार खत्रीद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

सीमा क्षेत्रमा हुने अवैध निकासी रोक्न समेत कर बढाउनु परेको मन्त्रालयको भनाई छ ।