विश्व

अमेरिका र तालिवानबीच आज ऐतिहासिक शान्ती सम्झौता

File

कतार , १८ वर्षभन्दा लामो युद्ध रोकेर अफगानिस्तानमा शान्ती फर्काउन अमेरिका र तालिवान लडाकु समूह तयार भएका छन् ।

सोही सिलसिलामा अमेरिका र अफगानिस्तानमा सक्रिय तालिवान लडाकुबीच आज दीर्घकालीन शान्ति सम्झौतामा हस्ताक्षर हुँदैछ ।

शान्ति सम्झौताका लागि कतारको राजधानी दोहामा विशेष कार्यक्रम आयोजना भएको छ ।

अहिले अफगानिस्तानमा एक प्रकारको युद्धविराम लागु भइसकेको छ । अघिल्लो साताबाटै अमेरिका, अफगानीस्थानको सरकारी फौज र तालिवानबीच एकअर्काविरुद्ध आक्रमण नगर्ने सहमतिमा सम्झौता भएको थियो ।

त्यसको एक सातापछि आज दीर्घकालीन शान्ति सम्झौतामा हस्ताक्षर हुन लागेको हो । यो समझदारीलाई मध्यपूर्वी एसियामा लामो समयदेखि जारी तनाव अन्त्य गर्ने एक महत्वपूर्ण अस्त्रका रुपमा हेरिएको छ।

अमेरिकाले अफगानिस्तान सरकारलाई सघाउँदै तालिवान लडाकुविरुद्ध आक्रमण थालेको थियो ।

अहिले भने अमेरिकाबाटै शान्ति सम्झौताका लागि पहल भएको हो । अफगानिस्तान युद्धमा अमेरिकाले समेत हजारौं सैनिक र ठूलो धनराशी गुमाउनु परेको छ ।

अमेरिकाले सेप्टेम्बर २०१८ मा कूटनीतिज्ञ जालमेई खलिलजादलाई अफगानिस्तानमा शान्ति स्थापनाको पहल गर्ने उद्देश्यले विशेष दूत नियुक्त गरेको थियो । उनकै पहलमा अहिले दीर्घकालिन शान्ती सम्झौताको चरणमा पुगेको हो ।

दोहामा शान्ति सम्झौतामा हस्ताक्षर हुनासाथ अफगानिस्तानको राजधानी काबुलमा युद्धविरामको संयुक्त घोषणा गर्ने कार्यक्रम रहेको छ ।

संयुक्त घोषणा सभामा अमेरिकी रक्षामन्त्री मार्क एस्पर उपस्थित हुँदैछन् उत्तर एटलान्टिक सन्धि संगठन (नेटो)का महासचिव जिन्स स्टेलनबर्ग, अफगानिस्तानका राष्ट्रपति असरफ घानी, कतारका लागि नेपाली राजदूत नारदनाथ भारद्वाजलगायत बिभिन्न देशका प्रतिनिधि साक्षीका रुपमा उपस्थित हुने संचारमाध्यममा उल्लेख छ ।

यो महत्वपूर्ण क्षणमा नेपालले समेत आफ्नो प्रतिनिधित्व गर्ने मौका पाएको छ ।

अफगानिस्तानमा २००१ अक्टोबर ७ बाट अमेरिकाले तालिवान सरकारविरुद्ध युद्ध थालेको हो ।

सोही वर्ष अमेरिकाको पेन्टागनस्थित ट्वीन टावरमा आक्रमण भयो । यस आक्रमणको मूख्य योजनाकार अलकायदाका प्रमुख ओसामा विन लादेन थिए ।

उनी अफगानिस्तानका तालिवानको संरक्षणमा रहेको भन्दै अमेरिकाको आक्रमण थालेको हो ।

पछि लादेन पाकिस्तानमा लुकेर बसेको अवस्थामा अमेरिकी फौजबाट मारिएका थिए । अफगानिस्तान युद्धले एक हराभरा र विकसित मुलुकलाई भने ध्वस्त बनायो ।