स्वास्थ्य

नेपाली धेरै रहेका मुलुकमा कोराना देखिएपछि बल्ल जाग्यो सरकार, रोक्नेबारे छलफल

काठमाडौं । पछिल्लो समय कोरोनाले मध्यपूर्वी मुलुक र यूरोपमा संक्रमण बढाइरहेको छ । यी मुलुकमा धेरै नेपाली बसोबास गर्छन् । कोरिया, जापान, इरान र इटालीमा तिब्र रुपमा कोरोनाको संक्रमण फैलिएको छ ।

चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमण युरोप र मध्यपूर्वसम्म फैलिएपछि बल्ल नेपाल सरकारले सतर्कता अपनाउन थालेको छ ।

यसअघि विमानस्थलमा थर्मल स्क्यानर राखेर ज्वरो जाँच गरिरहेको नेपालले अब भने प्रभावित मुलुकबाट हवाई यात्रुलाई नेपाल आउन रोक्नेसम्मका रणनीति अपनाउने बारे तयारी गरेको छ ।

यद्दपी यसको जोखिम मूल्यांकन गर्नुपर्ने भएकाले सरकारले एक संयन्त्रको गठन गरेको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले नेपाललाई उच्च जोखिममा राखेको छ । नेपालमा चीनबाहेक प्रभावित अन्य मुलुकबाट समेत निर्वाध रुपमा मानिसहरुको बाक्लो आवातजावत रहेको छ ।

सोही सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार मन्त्रीहरुको बैठक बोलाएका हुन् ।

बैठकमा कोरोना रोकथामबारे पूर्वतयारी गर्न उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा उच्चस्तरीय समन्वय समिति बनाइएको हो ।

समितिमा गृह, पर्यटन, स्वास्थ्य, अर्थ, शिक्षालगायत मन्त्री रहेका छन् ।

समितिले नेपालसँग हवाईसहित यातायात सञ्जालले जोडिएका देशहरुको गतिविधिलाई नजिकबाट हेर्ने र नेपाल भित्र संक्रमण आउन नदिन अपनाउनु पर्ने रोकथामका लागि आवश्यक निर्णय गर्ने भएको छ ।

बैठकमा प्रधानमन्त्रीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हरेक यात्रुको चेकजाँच गर्न, चेकजाचको उपकरण र औषधि पर्याप्त भण्डारण गर्न र चिकित्सक परिचालन गर्न निर्दशन दिएका थिए ।

नेपालमा अहिलेसम्म एक जनामा मात्र कोरोना देखिएपनि उनी निको भएर घर फर्किसकेका छन् ।