समाचार

भ्रमण वर्ष स्थगित गरिने

काठमाडौं । सरकारले नेपाल भ्रमण वर्ष २०२० र सगरमाथा सम्वाद कार्यक्रम स्थगित गर्ने भएको छ । यी दुबै कार्यक्रम स्थगित गर्ने प्रस्ताव प्रधानमन्त्रीले गरेका छन् ।

अब विभागीय मन्त्रालयले यसको प्रस्ताव मन्त्रीपरिषद्मा लगेर यसको औपचारिक निर्णय हुने भएको छ ।

आइतबार साँझ मन्त्रीपरिषद् बैठक बसेको थियो । मन्त्रिपरिषद बैठक र उच्चस्तरीय समितिमा छलफल भएको छ ।

चीनको वुहानबाट सुरु भएको कोरानो भाइरसको संक्रमण अहिले युरोप र मध्यपूर्वसम्म फैलिएको छ । यसको बिस्तार तिब्र रुपमा भइरहेको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले पनि नेपाललाई उच्च जोखिमयुक्त मुलुकको सूचिमा राखेको छ । सोहीकारण भ्रमण वर्ष स्थागित गर्ने र आन्तरिक पर्यटकीय प्रवद्र्धनमा केन्द्रित हुने तयारी सरकारले गरेको छ ।

कोरोनाको संक्रमणबारे सतर्कतामा जोड दिने समय भएकाले पर्यटन प्रवर्द्धनमा ध्यान दिन नसकिने भन्दै भ्रमण वर्ष रोक्न लागिएको हो ।

मन्त्रीपरिषद् बैठकमा सरकारले विभिन्न कोरोना अतिप्रभावित मुलुकबाट आउने विमान र यात्रुलाई समेत रोक्ने गरी छलफल भएको थियो ।

चीन, जापान, दक्षिण कोरिया, हङकङ र इरानका यात्रुहरुलाई रोक्ने तयारी सरकारले गरेको छ ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा समेत आइतबारबाटै बाहिरने र भित्रिने हरेक यात्रुको स्वास्थ्य चेकजााच गर्न थालिएको छ ।