स्वास्थ्य

कोरोनाको आंशका लागेका चार जनाको रिपोर्ट नेगेटिभ

काठमाडौं । कोरोना संक्रमणको आंशकामा टेकुमा भर्ना भएका चार जनामा नेगेटिभ रिपोर्ट आएको छ । यससँगै अझै पनि नेपाल कोरोना मुक्त मुलुककै रुपमा रहेको छ ।

टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा कोरोनाको आशंकामा चार जना भनाई भएका थिए ।

तर, उनीहरुमा नेगेटिभ रिपोर्ट आएपछि डिस्चार्ज भएका छन् । उनीहरु आइतबार अस्पताल भर्ना भएका थिए । उनीहरु सबै नेपाली नागरिक भएको बताइएको छ ।

डिस्चार्ज भएका मध्ये एक जना चीन र तीन जना दक्षिण कोरियाबाट फर्केका थिए । अस्पतालका मंगलबार थप दुई जना अस्पताल भर्ना भएका छन् उनीहरुलाई समेत कोरोना संक्रमणको आशंकमा आइसोलेसनमा राखिएको छ ।

उनीहरुमध्ये पनि एक जना दक्षिण कोरिया र अर्का एक जना मध्यपूर्वबाट आएको अस्पतालले जनाएको छ । दुई महिनाअघि चीनबाट सुरु भएको कोरोना भाइरस विश्वका ६५ भन्दा बढी देशमा फैलिइसकेको छ ।

दक्षिण कोरिया, इरान र इटालीजस्ता देशमा यस रोगको संक्रमणबाट मानिसको ज्यान समेत गइसकेको छ । विश्वस्वास्थ्य संगठनले विश्वभर स्वास्थ्य आपतकाल घोषणा गरेको  छ ।