स्वास्थ्य

विद्यालयको परिक्षा छिटो सक्न निर्देशन, औपचारिक कार्यक्रम रद्द

काठमाडौं । सरकारले विद्यालयहरुले लिने आन्तरिक परिक्षा सीघ्र सक्न निर्देशन दिएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा १ देखि ९ को परीक्षा चैत पाँच गतेसम्म सम्पन्न गर्न निर्देशन दिएको छ ।

विश्वभर कोरोनाको संक्रमण बढिरहेको र यसले विद्यालयहरुमा असर गर्न सक्ने भन्दै सरकारले सचेतना अपनाउन आह्वान गरेको हो ।

आइतबार मन्त्रालयले प्रेस विज्ञप्ती जारी गर्दै विश्वभर कोरोनाभाइरसको संक्रमण र सन्त्रास बढ्दै गएकोले सतर्कता अपनाउन कक्षा १ देखि ९ को वार्षिक परीक्षा चैत ५ गतेभित्र सकाउन आग्रह गरेको हो ।

मन्त्रालयले विद्यालयमा सभा, समारोह, वार्षिकोत्वसलगायत औपचारिक कार्यक्रम आयोजना नगर्न समेत सचेत गराएको छ ।

यस्ता कार्यक्रमले एक अर्कामा संक्रमण बढ्न सक्ने मन्त्रालयको भनाई छ ।

अर्कोतर्फ कोरोनाले बालबालिका र वृद्धवृद्धामा छिटो आक्रमण गर्छ ।

विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोनाभाइरसको उच्च जोखिमयुक्त मुलुकमा राखेको छ । यद्दपी मुलुक भित्र अहिले बिरामी भने देखिएका छैनन् ।