फिचर

‘सुपर ट्युज्डे’ आज, साउथ क्यारोलिन जितसँगै बाइडेनको सानदार ‘कमब्याक’

प्रभात भट्टराई/अमेरिका
साउथ क्यारोलिना प्राइमरीमा बलियो जित सहित पूर्व उपराष्ट्रपति जो बाइडेनले डेमोक्रेटिक पार्टीको राष्ट्रपतिय होडमा ‘कमब्याक’ गरेका छन् । सुरुका तीन राज्यको प्राइमरी निर्वाचनको हारसँगै धेरैले बाइडेन क्याम्पेन पतन भएको लख काटेका थिए । तर, साउथ क्यारोलिनामा पाएको मतसँगै बाइडेनको पुनरोदय भयो ।

डेमोक्रेटिक पार्टीमा अहिले दुई धार छन् । सिनेटर बर्नी स्यान्डर्सले पार्टीका लिवरल बिचारधारा बोक्ने युवा पंक्तिलाई गोलबद्ध गरेका छन् । न्यूयोर्ककी हाउस अफ रिप्रिजेन्टेटिभ एलेक्जेन्द्रिया ओकासिया कोर्टेज लगायत उनको टिममा रहेका छन् । तर, डेमोक्रेटिक पार्टीको बहुमत तप्का अझै पनि स्यान्डर्सको बामपन्थी झुवाक बोक्ने लिवरल बिचारसँग सहमत छैन । बहुमत अमेरिकी समाजवादी मान्यतासँग सहमत नरहेका कारण ट्रम्पलाई हराउन कोही न कोही मध्यमार्गी नेताकै खाँचो पर्ने बुझाइ उनीहरुको छ ।

साउथ क्यारोलिन जितसँगै ती मध्यमार्गीहरुको नेताको रुपमा पूर्व उपराष्ट्रपति बाइडेन पुनः उदाएका हुन् । एक महिना अघि सम्पन्न आइवा ककससम्म बाइडेन डेमोक्रेटिक पार्टीबाट प्रष्ट ‘फ्रन्टरनर’ थिए । तर, आईवामा तेस्रो स्थानमा धकेलिएसँगै उनी क्रमशः पछि पर्न थाले । न्यूह्यामसरमा चौथो भएपछि त बाइडेन क्याम्पेन अब पतन भएको निचोड उनकै कतिपय समर्थकले निकालेका थिए । नेभादामा उनी दोस्रो त भए तर पहिलो स्थानका स्यान्डर्ससँग उनको मतान्तर आधा हाराहारी थियो । त्यसैले नेभादाले उनको उम्मेद्वारीमा कुनै उर्जा सञ्चय गर्न सकेन ।

तर, शनिबारको साउथ क्यारोलिना प्राइमरीप्रति भने धेरैले जिब्रो टोके । मतगणना सुरु हुने बेलासम्म पनि राजनीतिक पण्डितहरु बाइडेनले दोहोरो अंकको जित निकाल्न नसक्ने लख काटि रहेको थिए । तर, जब करिब पाँच प्रतिशत मत परिणाम आयो लाइभ टिभीमा बोलि रहेका विश्लेषकहरुको बोली फेरिन थाल्यो । नभन्दै ३० प्रतिशत बिन्दु हाराहारीको मतान्तर सहित बाइडेन बिजयी भए । साउथ क्यारोलिनाका डेमोक्र्याटहरुले सन् २००८ को प्राइमरीमा सर्वाधिक मतदानको रेकर्ड बनाएका थिए । त्यसबेला डेमोक्रेटिक ब्यालेटमा पाँच लाख ३२ हजारले मतदान गरेका थिए । अहिले पाँच लाख ३९ हजारले डेमोक्रेटिक प्राइमरीमा मतदान गरेका हुन् ।

साउथ क्यारोलिना डेमोक्रेटिक प्राइमरीमा मतदान गर्नेमध्ये ६० प्रतिशत हाराहारी काला जातिका थिए । उनीहरुले आफ्नो समर्थन सजातिय बाराक ओबामालाई जस्तै उनका उप राष्ट्रपति बाइडेनलाई पनि देखाए । यसले काला अमेरिकीहरुको मत अहिले पनि बाइडेन तर्फ नै एकत्रित रहेको पुष्टि भयो । मध्यमार्गी विचारधाराका धेरै उम्मेद्वार रहेका कारण बर्नीलाई फाइदा पुग्ने चिन्तामा रहेका डेमोक्रेटिक रणनीतिकारहरु पनि अब बाइडेनको नेतृत्वमा सबै सहमत हुन सक्ने निचोडमा पुगे । त्यही अनुरुप पार्टी भित्रबाट गृहकार्य सुरु भयो । नभन्दै चामत्कारिक क्याम्पेन सुरु गरे पनि अश्वेत मतदातामाझ गहिरोसँग भिज्न नसकेका पूर्व मेयर पिट बुट्टिजजले आईतबार आफ्नो उम्मेद्वारी अन्त्य गरे । उनले ‘ड्रप आउट’ हुन अगावै बाइडेनलाई समर्थनको बचन दिइ सकेका थिए । त्यस्तै सोमबार सिनेटर एमी क्लोबुचारले आफ्नो क्याम्पेन अन्त्य गरिन् । उनीहरु दुबै जनाले सोमबार साँझ टेक्सासमा बाइडेनको प्रचार सभामा उपस्थित भइ उनलाई समर्थनको औपचारिक घोषणा गरे । उनीहरुसँगै बाइडेनलाई समर्थन गर्न सभामा आएका थिए टेक्सासकै पूर्व हाउस अफ रिप्रिजेन्टेटिभ एवं डेमोक्रेटिक राष्ट्रपतिय होडबाट यस अघि नै बाहिरिइ सकेका बेटो ओरर्क ।

मंगलबार एकै पटक १४ राज्यमा डेमोक्रेटिक प्राइमरी निर्वाचन हुँदैछ । मिनिसोटाकी सिनेटर एमी आफ्नो राज्यमा ‘फ्रन्टरनर’ नै थिइन् । तर, आफुलाई केही डेलिगेट्स आए पनि उम्मेद्वारी हत्याउन काफी नहुने देखेपछि उनी बाइडेनलाई समर्थनको घोषणा गर्न हतारिइन् । सुपर ट्युज्डेमा एक तिहाई डेमोक्रेटिक डेलिगेट्सहरुको छिनोफानो हुँदैछ । त्यसमा सबैभन्दा धेरै ४१५ जना डेलिगेट्स रहेको क्यालिफोर्नियामा स्यान्डर्स ‘फ्रन्टरनर’ देखिएका छन् । दोस्रो स्थानमा रहेको टेक्सासमा २२८ जना डेलिगेट्स मंगलबारको प्राइमरीले तय गर्नेछ । सोही कारण टेक्सासमा जित हासिल गर्न बाइडेनले जोड लगाएका हुन् । क्यालिफोर्नियामा पनि काला जातिको उल्लेख्य बसोबास रहेका कारण बाइडेनले सम्मानजनक दोस्रो स्थान हासिल गर्ने प्रक्षेपण हुन थालेका छ । साउथ क्यारोलिनाको नतिजा पछि पण्डितहरुको बोली फेरिएको हो ।

पार्टी संस्थापन एवं मध्यमार्गीहरुकाे चाहना क्यालिफाेर्नियामा बाइडेन र स्यान्डर्स पछिका उम्मेद्वारहरु सिनेटर एलिजावेथ वारेन र व्यवसायी माइक ब्लुमबर्गले कम्तिमा १५/१५ प्रतिशत मत पाउन् भन्ने रहेको छ । डेमोक्रेटिक पार्टीकाे नियम अनुसार १५ प्रतिशत मत पाउने उम्मेद्वारले मात्र डेलिगेट्स पाउनेछ । यदि वारेन र ब्लुमबर्गले १५ प्रतिशतको थ्रेसहोल्ड पार गर्न सके स्यान्डर्सले पाउने डेलिगेट्स खोस्न सक्नेछन् । १५ प्रतिशत थ्रेसहोल्ड पार नगर्ने उम्मेद्वारले पाउन सक्ने डेलिगेट्स स्वतः विजेताको भाग पर्नेछ ।

क्यालिफोर्निया र टेक्साससँगै नर्थ क्यारोलिना, भर्जिनिया, मासाचुसेट्स, मिनिसोटा, कोलोराडो, टेनेसी, अलाबामा, ओक्लोहोमा, अर्कान्सास, युटा, मेन र भर्माैन्टमा मंगलबार प्राइमरी निर्वाचन हुन लागेको हो । अहिले धमाधम मतलान भइ रहेका यी राज्यमध्ये बाइडेन र स्यान्डर्सले आधा आधा राज्य जित्ने अनुमान गरिएको छ । अहिलेसम्म स्यान्डर्ससँग ६० र बाइडेनसँग ५४ डेलिगेट्स छन् । साउथ क्यारोलिना प्राइमरी अघि यो अनुपात ४५ र १५ को थियो । सुपर ट्युज्डेमा उछिन्ने दुबैजनाको होडमा अहिले सबैका आँखा सोझिएका छन् ।

मध्यमार्गी डेमोक्र्याटहरुले ह्वाइट हाउस मात्र होइन, हाउस अफ रिप्रिजेन्टेटिभको बहुमत कायम राख्दै सिनेटमा बहुमत हासिल गर्न पार्टीको राष्ट्रपतिय उम्मेद्वार सबैलाई समेट्न सक्ने हुनुपर्ने बताउँदै आएका छन् । बाइडेन डेमोक्र्याट मात्र नभइ मध्यमार्गी एवं ट्रम्पलाई मन नपराउने रिपब्लिकनहरु माझ पनि लोकप्रिय छन् । एकातिर काला जातिको उत्साहजनक समर्थन र अर्कोतिर रिपब्लिकनको पनि भोट पाउँदा बाइडेनले ट्रम्पलाई हराउने पार्टी संस्थापनको आँकलन छ । सोही कारण उनीहरु हतार हतार बाइनेटको नेतृत्वमा एकबद्ध भएका हुन् । पिटले देशब्यापी रुपमा १० प्रतिशत हाराहारी समर्थन पाउँदा पाउँदै मैदान छोडेका छन् भने एमीले कम्तिमा आफ्नो राज्यमा जित्न सक्ने अवसरलाई त्यागी दिएकी छिन् । उनीहरुको सम्झौताको परिणाम कस्तो आउला हेर्नलाई सुपर ट्युज्डे हुँदै केही दिन प्रतिक्षा गर्नुपर्ने हुन्छ ।

तश्विरहरु एजेन्सी