मनोरञ्जन

फागुपर्व एक : प्रभाव अनेक

भीमनारायण श्रेष्ठ / शोणितपुर (थानकोट)

विशेषतः हिन्दू धर्मावलम्वीहरू एकआपसमा उत्सुकताका साथ हर्षोल्लासमय वातावरणमा आ–आफ्नै घर आँगन एवम् सहर बजारमाविभिन्न रङ्गहरू खास गरी अबीर (सिन्दूर) एकआपसमा हालाहाल गरी फागुपर्व (होली) मनाउने गर्दछन् । कोहीकोही त पानी छ्यापाछ्याप समेत गरेर फागु (होली) को आनन्द लिने गर्दछन् । फागुपर्वको अवधिभर केटाकेटीहरूले बटुवाहरू माथि लोला हान्ने र पानीछ्याप्दै हाँसीखुसी मज्जा लिने र अरूलाई हैरान पार्ने पनि गर्दछन् । फागुपर्व फाल्गुण शुक्लअष्टमीदेखि पूर्णिमा (चन्द्रमास गणनाकोतिथि अनुसार नेपाल सम्बत् चिल्लाथ्व अष्टमीदेखि पूर्णिमा) सम्म हर्षोल्लासकासाथ मनाउने गरिन्छ । फागुपर्वको आरम्भदेखि अन्त्य (पूर्णिमा) सम्म फागुपर्व लागेको जनाउन काठमाडौंको वसन्तपुरमा चिरस्वाय्गु ( रङ्गीचङ्गी कपडाका टुक्राहरू टाँगी सुसज्जित लिङ्गोठड्याउने) गरिन्छ । तराई एवम् भित्री मधेशतिर फागु पूर्णिमाको भोलिपल्टसम्म धुमधामकासाथ होलीपर्व मनाउने गरिन्छ  । फागु (होली) पर्व मनाउन कुनै जातधर्म केहीले पनि छेकवार लगाएको पाईदैन ।

हामीले मनाउँदै आएको फागु (होली) पर्व कहिलेदेखि शुरुवात भएको भन्ने एकिन तथ्य प्रमाण नभेटिए तापनि हालसम्मको कथन अनुसारपराक्रमी दानवराज हिरण्यकश्यपुका छोरा बालक प्रह्लाद शिवभक्त भएकाले आफ्नै पिता (हिरण्यकश्यपु) ले उनलाई अग्नीदाह गरीअन्त्य गर्न आफ्नी बहिनी होलिकाको सहयोग लिएका थिए । होलिकाले अग्नीबाट छुन नसक्ने वरदान पाएकी थिईन् । होलिकालेप्रह्लादलाई आफ्नो मोहमा पारी अग्नीदाह गराउन काखमा लिई चित्तामा बसेकी बेला तलबाट दानवहरूले आगो लगाई दिएका थिए ।आगोको ज्वालाले शिवभक्त प्रह्लादलाई छुन सकेन । तर बिग्रँदो मति लिएर अरुको नाश गर्न तम्सिएकी होलिकालाई भने आगोले बाँकीराखेन । अग्नीले होलिकालाई खाग बनाई दिए । दानवी होलिकाको नाश भएको बेलादेखि उनै होलिकाको नामले होलि अर्थात् फागुपर्वमनाई हर्षोल्लासमय वातावरणमा रङ्गमा खेल्ने गरेको हो भन्ने भनाई रहेको छ । यसैले हामी फागु अर्थात होलिपर्व बर्षको एकपटकमनाउँदै आएका छौं ।

​यसरी उत्सुकतापूर्वक रङ्गमा खेल्नु भनेको नै रङ्ग साहित्यमा रमाउनु हो । रङ्ग साहित्यले हाम्रो भौतिक जीवनमा गहिरो जरा गाडेकोपाइन्छ । जन्मेदेखि मरणोपरान्तसम्म पनि हामी रङ्ग साहित्यमा नै डुब्छौं, रमाउँछौं । विद्वानहरू भन्छन् – साहित्य, सङ्गीत र कला बिनाहाम्रो जीवन अधुरो नै रहन्छ । अझ त्यसमा थप्छन् – साहित्यको सीमा, सङ्गीतको गहिराई र कलाको उचाई नापेर नाप्न सकिन्न ।यसैबाट थाहा हुन्छ कि साहित्य, सङ्गीत र कलाको सम्बन्ध हाम्रो जीवनमा कति रहेछ भन्ने व्याख्या गरेर साध्य नै छैन । त्यस्तै हाम्रोजीवनमा रङ्ग साहित्यको प्रभाव अझ गहिरो छ । रङ्ग साहित्यको प्रभाव हाम्रो दृष्टिगोचरले भ्याएसम्म र स्पर्श हुने ठाउँसम्म पुगेकोछ ।सुक्ष्म रुपले अध्ययन गर्ने हो भने हाम्रो जीवनमा रङ्ग साहित्यको प्रभाव नजानिँदो किसिमले कति परेको छ भन्ने छर्लङ्ग हुन्छ ।

​रङ्ग साहित्यको उत्पत्ति कहिले भएको सजिलै भन्न कठिन छ । तापनि सूर्यको किरणबाट प्रवाह हुने सहस्र रङ्गहरूको प्रभावलाई लिनसकिन्छ । यसैबाट रङ्ग साहित्यको शुरुवात भएको भन्न सकिन्छ । सूर्यको किरणमा रहेका सहस्र रङ्गहरू मध्ये हामी हाम्रो आँखालेप्रत्यक्ष रुपमा सप्तरङ्गी इन्द्रेणी मात्र देख्दछौं । इन्द्रेणी रङ्गहरू वैजनी, आकासे रङ्ग, निलो, हरियो, पहेंलो, सुन्तला रङ्ग, र रातोसूर्यकिरणबाट उत्पत्ति भएको मानिन्छ  । यस्तै सेतो र काला यी दुई रङ्ग आफैंमा रङ्ग नभए तापनि अरु रङ्गको समिश्रणबाट तयार हुनेरङ्ग भएकाले ती समेत गणना गर्दा नवरङ्ग भनी नौवटा रङ्ग देखा पर्दछ । यी सप्तरङ्गमा पनि मूलरुपमा रातो, निलो, हरियो र पहेंलोलिइन्छ । यिनै ४ रङ्गहरूबाट अरु रङ्गहरू तयार हुने भएकाले यसको समायोजन पछि सिर्जित रङ्ग नै हामीले अनुभूति गर्ने रङ्गसाहित्य हो ।

​हामीले जता हेर्छौं त्यता रङ्ग नै रङ्ग देख्दछौं । जुन वस्तु छुन्छौं रङ्गीन नै छुन्छौं । जुनकुराको अनुभव गछौैं रङ्ग नै अनुभूति हुन्छ ।आँखा खोल्यौं चारैतिर रङ्गैरङ्ग देखिन्छ । आँखा बन्द गर्यौं भनेपनि रङ्गैरङ्गको अनुभूति हुन्छ । दायाँ बायाँ, अगाडि पछाडि, तल माथिसवैतिर रङ्गैरङ्ग देख्दछौं । हामी लुगा लगाउँदछौं विभिन्न रङ्गका, खानेकुरा खान्छौं उही रङ्ग भएको वस्तु नै । यस्तो हुनु नै रङ्गसाहित्यको प्रभाव हो । हाम्रो भौतिक जीवनमा रङ्ग बिनाको वस्तु हामी परिकल्पना पनि गर्न सक्तैनौ । किनभने हाम्रो भौतिक शरीर नैरङ्गले भरिएको छ । हाम्रो शरीर रातो रगतबाट सिंचित छ । त्यही रगतको कणले बनेको कोष विकसित भई त्यसैबाट अङ्ग प्रत्यङ्गहरूबनेका छन् । त्यसैले हाम्रो शरीरको बाहिरी स्वरुप पनि रातो, कालो, सेतो, गहुँगोरो भएका छन् । यस्तो हुनु कसैको रगत बाक्लो रकसैको पातलो हुनाले र कसैको भौगोलिक अवस्थाबाट पनि फरक हुने गर्दछ । त्यसैले हामी भन्ने गर्दछौं रुप रङ्गमा “गोरो भएपनिनराम्रो, कालो भएपनि हिसि परेको, गहुँगोरो भएकोले राम्रो” आदिआदि । यस्तो हुनुपनि रङ्ग साहित्यको प्रभाव नै हो ।  

​भौतिक जगतमा हामी एकदिनलाई दिन र रात गरी २४ घण्टाको समय तालिकाले हिसाव गर्दछौं । त्यसलाई आधा गर्दा १२/१२ घण्टाकोदिन र रात हुन्छ । दिन र रातको समयलाई ध्यान दिंदा हामी दिनको १२.०० बजेलाई मध्यान्ह, रातको १२.०० बजेलाई मध्यरात मान्दछौं ।त्यस्तै विहान ६.०० बजेको समयलाई प्रभातकाल अर्थात सूर्योदयको समय, बेलुकाको ६.०० बजेलाई सन्ध्याकाल अर्थात सूर्यास्तकोसमय मान्छौं । यसरी यी चार समयको पनि अलग अलग रङ्गहरू छन् । पहिलो सूर्योदयमा सुनौला किरणले छाउने भएकाले पहेंलोरङ्ग, त्यस्तै मध्यान्हमा सबैतिर उज्यालो हुने भएकाले सेतो रङ्ग, बेलुका सूर्यास्त हुने बेला सूर्यको रातो किरण आउने भएकाले रातो रङ्गर मध्यरातमा सवैतिर अँध्यारो हुने भएकाले कालो रङ्ग देखापर्दछ । यसरी रङ्ग साहित्यले भौतिक जगतलाई पनि प्रभाव पारेको देखिन्छ।

​अझ हाम्रो भौतिक शरीरलाई कहिँ कतैबाट रङ्ग साहित्यले प्रभाव पार्न छाडेको छैन । हामीले ख्याल राख्न नसकेको मात्र हो । हामीदिनभर आफ्नै कार्यव्यस्ततामा रहन्छौं । साँझपख थकित हुन्छौं । राती मस्त निन्द्रामा हुन्छौं र बिहानीपख हामी जागरुक हुन्छौं । यसअवधिभर पनि हामीलाई रङ्गले छोडेको हुँदैन । हामी दिनभरको थकानबाट आरामको लागि बेलुकी खानपिन गरी सुत्ने गर्दछौं । जवहामीमा निन्द्रा लाग्न शुरु हुन्छ तब हाम्रो शरीरको रङ्ग पहेंलो हुन्छ । त्यसपछि मज्जाले निन्द्रा लाग्छ, कोहीकोही मज्जाले घुर्ने पनि गर्छन्। त्यतिबेला हाम्रो शरीरको रङ्ग निलो कालो हुन्छ । जव निन्द्रा पुग्छ, बिहानीपख उठ्ने बेला भएको हुन्छ । त्यतिबेला हाम्रो शरीरको रङ्गरातो हुन्छ । अनि हामी उठी आफ्नो नियमित स्नान कार्य सम्पन्न गर्दछौं र उज्यालो पनि हुँदै जान्छ । त्यतिबेला हाम्रो शरीरको रङ्ग पनिपरिवर्तित भई सेतो उज्यालो भएको हुन्छ । यसरी हाम्रो भौतिक शरीरलाई पनि रङ्ग साहित्यले प्रभाव पारेको छ ।

​हाम्रो धर्मग्रन्थ अनुसार यो ब्रह्माण्ड नै पृथ्वीतत्व, जलतत्व, वायुतत्व, तेजतत्व र आकाशतत्व यी पञ्चतत्वमा अडिएको छ । यिनै पञ्चतत्वविना हामी यो संसारको कल्पना पनि गर्न सक्दैनौं । फरक फरक किसिमका यी पञ्चतत्वहरूको रङ्ग पनि फरक नै छ । त्यस्तैहिन्दुहरूको अधिष्ठाता आराध्यदेव महादेवको सहस्रनाम भए तापनि पशुपतिनाथको श्वेतवर्ण पञ्चमुखमा प्रत्येक मुखको स्वरुप, तत्व रनामाकरण पनि फरक नै छन् । ती यिनै हुन् ।

​दिशा​स्वरुप​पञ्चतत्व​नाम​रङ्ग

पश्चिममुख​सद्योजात​पृथ्वीतत्व​नन्दिमुख​पहेँलो

उत्तरमुख​वामदेव​जलतत्व​उमामुख​सेतो

पूर्वमुख​तत्पुरुष​वायुतत्व​महादेवमुख​निलो

दक्षिणमुख​अघोररुप​तेजतत्व​भैरवमुख​कालो

उध्र्वमुख​ईशानरुप​आकाशतत्व​सदाशिवमुख​आकासे निलो

​पञ्चतत्वले सर्वव्याप्त पशुपतिनाथको स्वरुप अनुसारको फरक दिशामा अवस्थित नामको पञ्चमुखको रङ्ग फरक हुनाले पनि रङ्गसाहित्यमा अझ बढी प्रभाव परेको देखिन्छ ।

​त्यस्तै हिन्दू धर्मावलम्वीको मन्दिर, बौद्ध धर्मावलम्वीको गुम्बा, मुस्लिमको मक्कामदिनामा पनि रङ्ग साहित्यको प्रभावले फरक रङ्गलेसजिएको छ । जस्तै; हिन्दू धर्मावलम्वीको मन्दिरहरूको छाना पित्तल वा तामाको अर्थात अरु केही वस्तुको भए तापनि पहेंलो वा रातोरङ्गको नै हुन्छ ।  बौद्धमार्गीको गुम्बाहरूमा पहेंलो वा सेतो रङ्ग नै लगाएको हुन्छ । त्यस्तै मुस्लिम धर्मावलम्वीको मक्कामदिनामा हेर्यौंभने त्यो पनि कालो रङ्गको नै देख्छौं । यसरी धार्मिक आस्था अनुसारको मन्दिरहरूको रङ्ग र विशेषतामा फरक फरक हुनु रङ्गसाहित्यको प्रभावले गर्दा नै हो ।

​कति व्यापक छाएको छ, रङ्ग साहित्यको प्रभाव ! हामी हिन्दूहरूको महानचाड दशैंको पूजाआजा गर्दाखेरि पनि रङ्ग साहित्यको कतिप्रभाव परेको छ भन्ने छर्लङ्ग हुन्छ । हामी घटस्थापनाको दिनमा जमरा राख्छौं । त्यसपछि महानवमीको दिनसम्म नवदुर्गाको रुपमाविभिन्न शक्तिपीठहरूमा गई पूजाआजा गर्दछौं । बराहपुराणमा अष्टमातृकाको नाउँ उल्लेख भए तापनि खासगरी ब्राह्मी, महेश्वरी, कौमारी, वैष्णवी, बाराही, इन्द्रायणी र चामुण्डा गरी सप्तमातृका मूलरुपमा अगाडि आउने गर्दछ ।  सप्तमातृका भित्र पर्ने सातै देवीकासामुहिक शक्ति समावेश गरी एउटै स्वरुपको आकृतिमा महालक्ष्मीलाई अष्टमातृकाको रुपमा चित्रण गरेका छन् । अझ सप्तमातृकामामहालक्ष्मी समेत समावेश गरी अष्टमातृका भनिन्छ भने अष्टमातृकामा सिंहीनी थपेपछि नवदुर्गाको रुपमा मानेका छन् । यिनीसप्तमातृकाको साथै नवदुर्गाको स्वरुपमा रङ्ग फरक फरक हुनु रङ्ग साहित्य कै प्रभाव हो ।

​विजया दशमीमा नवदुर्गाको पूजाआराधना गरी टीकाटाला गर्दा आ–आफ्नो संस्कृति अनुसार  विभिन्न रङ्गको टीका लगाई जमरा समेतलिने गर्दछौं । जसमा कालो टीकाले एकप्रकारको दैविशक्ति उत्पन्न भएको महशुस हुन्छ । त्यस्तै रातो टिका । यसमा पनि सेतो दही, लावा, अक्षता र रातो सिन्दूर मिलाई बनेको रातो टीका । अझ त्यसलाई थप शक्ति प्रदान गर्न पहेंलो जमरा समेत लगाउने गर्दछौं ।त्यसरी विभिन्न रङ्गको टीका एकैसाथ ग्रहण गर्नाले आफूमा एकप्रकारको दैवीशक्ति प्राप्त भएको महशुस हुन्छ । यस्तो हुनुमा पनि रङ्गसाहित्यको प्रभावले गर्दा नै भएको मान्नु पर्दछ ।

​यही रङ्गको प्रभावले गर्दा नै हामी एकबर्षको अवधिलाई दुई दुई महिनाको ऋतु परिवर्तन भएको मान्छौं । गृष्म, बर्षा, शरद्, हेमन्त, शिशिर र वसन्त ऋतु गरी ६ भागमा विभाजन गरी अलग–अलग मौसम परिवर्तन भएको अनुभव गरिन्छ । ऋतु फरक हुनासाथ मौसमफरक हुने भएकाले वातावरणको रङ्ग पनि फरक नै हुने गर्दछ । यसो हुनुमा पनि रङ्ग साहित्यले नै प्रभाव पारेको हो ।

​अझ नेपालका नदीनालाहरूको नामाकरण अनुसार त्यसको रङ्ग र प्रभाव समेत फरक छ । जस्तै सप्तकोशीको उदाहरण यहाँ लिनसकिन्छ । सप्तकोशीको मूल प्रवाह हिमनदीहरु भए तापनि नाम अनुसार त्यसमा बग्ने पानीको रङ्ग र जनजीवनमा पारेको प्रभाव समेतफरक नै छ । दुधकोशीको पानी सेतो, तामाकोशीको पानी रातो, सुनकोशीको पानी पहेंलो, भए जस्तै भोटेकोशीको पानीको रङ्ग पनिफरक छ । त्यस्तै सप्तकोशी मध्येको बांकी नदीहरूको पानीको रङ्ग पनि फरक भई बगेको छ । यी विभिन्न रङ्ग र विशेषता रहेकोनदीको पानी सप्तकोशी नामबाट एकैनदी भई बगेको हुँदा यस नदीमा नुहाउनाले हाम्रो शरीरको विभिन्न रोहहरूको निदानमा सहयोगमिल्छ भनेका छन् । यसो हुनाको कारण पनि रङ्ग साहित्यको प्रभाव नै मान्नु पर्दछ ।

​रङ्गकर्मी चित्रकारहरूबाट सिर्जित विभिन्न चित्रहरू हामीहरूले देखेका छौं । तिनै रङ्गकर्मीले सिर्जित विविध रङ्गहरूको समायोजनगरी समय, परिस्थिति र वातावरण अनुसार अलग अलग पहिचान हुने गरी आकर्षक चित्रहरूको माध्यमबाट एकप्रकारको चित्र साहित्यतयार गरेका हुन्छन् । उक्त चित्र साहित्य कोर्नका लागि पनि विभिन्न रङ्गहरूको प्रयोग गरेका हुन्छन् । यदी रङ्ग नहुँदो हो त सायद चित्रसाहित्यको कल्पना पनि गर्न सक्दैन होला । त्यसैले रङ्गकर्मी भन्दा पनि रङ्ग साहित्यले चित्र साहित्यमा समेत निकै प्रभाव पारेको छ ।

​अन्तमा  हाम्रो जनजीवनमा समय, परिस्थिति र वातवारण अनुसारको हावापानीमा समेत निकै रङ्ग साहित्यले प्रभाव पारेको हुँदा यसविषयमा छुट्टै विषयवस्तु बनाई अध्ययन हुन जरुरी देखिन्छ ।

श्रोत सन्दर्भ;
१. प्रा. गोविन्दप्रसाद भट्टराई – नेपालका अधिष्ठाता आराध्यदेव श्री पशुपतिनाथ (पत्रिकाको लेखरचना)

२. संस्कृति सम्बन्धी विविध लेख रचना