फिचर

सुपर ट्युज्डे– बाइडेनका लागि चामत्कारिक रात

प्रभात भट्टराई/अमेरिका
अमेरिकाका १४ राज्यमा सम्पन्न राष्ट्रपतिय प्राइमरी चुनावमा डेमोक्रेटिक उम्मेद्वार जो बाइडेनले चामत्कारिक जित हासिल गरेका छन् । बाइडेनले राती दुई बजेसम्ममा आठ राज्य जित हासिल गरि सकेका छन् भने थप दुई राज्यमा जित निकाल्ने निश्चित प्राय देखिएको छ ।

गतसातासम्म सुपर ट्युज्डेबाट प्रष्ट अगुवाइ लिने अनुमान गरिएका सिनेटर बर्नी स्यान्डर्सले तीन राज्य जितेका छन् भने थप एउटा राज्यमा अगुवाई गरि रहेका छन् ।

गत शनिबार सम्पन्न साउथ क्यारोलिना प्राइमरी चुनावसम्म पतनको संघारमा देखिएका बाइडेनको आजको जितलाई राजनीतिक पण्डितहरुले अहिलेसम्म खतरनाक ‘पोलिटिकल कमब्याक’को संज्ञा दिएका छन् । साउथ क्यारोलिनामा ३० प्रतिशत बिन्दुको मतान्तर सहितको जित निकालेपछि बाइडेन मध्यमार्गी डेमोक्र्याटहरुको नेताको रुपमा एकाएक उदाएका थिए । त्यसपछि उनलाई आ–आफ्नो क्याम्पेन स्थगन गर्दै मेयर पिट बुट्टिजज र सिनेटर एमी क्लाेबुचारले समर्थन गरेका थिए । त्यसैको परिणाम स्वरुप बाइडेनले एमीको गृह राज्य मिनिसोटामा अप्रत्याशीत जित हासिल गरेका छन् । यस अघिका मत सर्भेक्षणहरुमा उनी मिनिसोटामा चौथो स्थानमा थिए ।

त्यस्तै बाइडेनले राष्ट्रपतिय होडमा रहेकी अर्की उम्मेद्वार सिनेटर एलिजावेथ वारेनको गृहराज्य सामाचुसेट्समा पनि अप्रत्याशित जित हासिल गरेका छन् । मासाचुसेट्समा वारेन र स्यान्डर्सको प्रतिश्पर्धा हुने अपेक्षा गरिएको थियो । तर, वारेन भने तेस्रो स्थानमा आइन् ।

आजको नतिजालाई डेमोक्रेटिक मतदाताले एजेन्डाभन्दा पनि आउँदो नोभेम्बरमा राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हराउने उम्मेद्वारको रुपमा बाइडेनलाई रोजेको विश्लेषण गरिएको छ । सुरु देखिनै चुनावी चन्दा संकलनमा पछि परेका बाइडेनले आज प्राइमरी चुनाव हुने क्यालिफोर्निया, भर्जिनिया, मासाचुसेट्स, टेक्सास जस्ता राज्यमा कुनै टेलिभिजन विज्ञापन गर्न सकेका थिएनन् । त्यती हुँदा पनि उनलाई भोट हाल्नेको ताँती नै लाग्यो ।

अहिलेसम्म बाइडेनले मिनिसोटा र सामाचुसेट्स अलावामा, अर्कान्सास, ओक्लोहोमा, टेनेसी, नर्थ क्यारोलिना र भर्जिनियामा जित निकालेका छन् । काला जातीको बाक्लो बसोबास रहेको नर्थ क्यारोलिना र भर्जिनियामा २०१६ भन्दा धेरै डेमोक्रेटिक मतदाताले भोट खसालेको रिपोर्ट प्रकाशित भएको छ । त्यसको मतलव काला जातिका मतदाताले बाराक ओबामा जस्तै उनका उप राष्ट्रपति बाइडेनप्रति माया दर्शाएको देखिन्छ ।

स्यान्डर्सले भने गृह राज्य भर्मौन्ट, युटा र कोलोराडोमा जित निकालेका छन् । अब बाइडेन मेन र टेक्सास जितको नजिक छन् भने स्यान्डर्सले क्यालिफोर्नियामा जित हासिल गर्ने अनुमान गरिएको छ । आज कुल १४ सय हाराहारी डेलिगेट्सको छिनोफानो हुँदैछ । तर, मतगणना जारी रहेका कारण कुन उम्मेद्वारको खातामा कति डेलिगेट्स पर्ने भन्ने चाहिँ टुङ्गो लागेको छैन । तर, आजको सुपर जितसँगै बाइडेनले डेलिगेट्समा प्रष्टसँग स्यान्डर्सलाई उछिन्ने देखिएको छ ।

हिजोसम्म टेक्सासमा पछि रहेका बाइडेन सोमबार साँझ पूर्व हाउस अफ रिप्रिजेन्टेटिभ बेटो ओ’रर्कले समर्थन गरेको परिणाम स्वरुप जित हासिल गर्ने अवस्थामा पुगेका हुन् । डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिको टिकट हत्याउने उद्देश्य साथ सुपर ट्युज्डे राज्यमा ४० करोड डलर बढि खर्चिएर प्रचार गरेका न्यूयोर्कका पूर्व मेयर एवं अर्बपति ब्यवसायी माइकल ब्लुमबर्गले आज कुनै उपलब्धि हासिल गर्न सकिन्न । पैसाको मात्र भरले जनमत जित्न नसकिने शिक्षाका साथ उनले क्याम्पेन स्थगित गर्ने अपेक्षा गरिएको छ । त्यस्तै लिवरल बजार अर्थतन्त्रलाई नियमनको कसिलो दायरामा बाँध्ने अभियान साथ उम्मेद्वारी घोषणा गरेकी सिनेटर वारेनको पनि अगाडिको बाटो लगभग अन्त्य भएको छ । अब ब्लुमबर्गले बाइडेन र वारेनले बर्नीलाई समर्थन गर्ने विश्लेषण सुरु भएको छ ।