समाचार

लोकसेवाको नयाँ कर्मचारी भर्ना विवाद : मन्त्री र संसदीय समितिबीच लुकामारी

काठमाडौं । संघीय संसद, राज्य व्यवस्था तथा सुशासन समितिले लोकसेवा आयोगद्धारा खुलाएको नयाँ भर्ना विवाद सम्बन्धका छलफल गर्न शुक्रबार बैठक डाकेको थियो ।

बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितलाई पनि आमन्त्रण गरिएको थियो । तर, मन्त्री पण्डित बैठकमा उपस्थित भएनन् ।

यसलाई संसदको अपमान गरेको ठहर समितिले गर्यो । त्यसपछि समितिले आगामी २७ जेठका लागि अर्को बैठक आह्वान गरि मन्त्री पण्डितलाई बैठकमा सहभागी हुन ‘अन्तिम मौका’ दिएको बताएको छ ।

स्थानीय तहको कर्मचारी भर्नासम्बन्धि लोक सेवा आयोगले खुलाएको विज्ञापनमा प्रदेश सरकारहरुले असहमति देखाएपछि भर्ना प्रक्रिया अहिले विवादमा छ ।

सोही सम्बन्धमा संघीय सरकारको धारणाबारे छलफल गर्न समितिले शुक्रबार बैठक बोलाएको थियो । उक्त बैठकमा पनि मन्त्री पण्डित सहभागी भई चित्त बुझ्दो जवाफ नदिए विज्ञापन फिर्ता लिन लोक सेवा आयोगलाई निर्देशन दिने तयारी समितिको छ ।

शुक्रबारको बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद दिलेन्द्रप्रसाद बडु, अमरेश कुमार सिंह, मिना पाण्डे र राष्ट्रिय जनता पार्टी नेपालका सांसद राजेन्द्र महतोले मन्त्री पण्डित पटक पटक अनुपस्थित भएको भन्दै तत्काल विज्ञापन फिर्ता लिन लोक सेवा आयोगलाई निर्देशन दिनु पर्ने भन्दै समितिकी सभापति श्रेष्ठलाई दवाव दिएका थिए ।

त्यसो त मन्त्री पण्डित पनि पछिल्लो समय अनेक बाहना बनाउँदै बैठकमा उपस्थित भइरहेका छैनन् । शुक्रबारको समितिको बैठकले लोकसेवा आयोगलाई दिने निर्देशनको खाका तयार पारिसकेको छ ।

लोकसेवा आयोगले ५ सय १५ स्थानीय तहका विभिन्न पदमा ९ हजार १ सय ६१ कर्मचारी माग गर्दै विज्ञापन सार्वजनिक गरेको छ ।